
पोखरा, ७ माघ ।
स्याङजाको कोल्मा ऐतिहासक गाँउ हाल पुतलीबजार नपा ९ मा अवस्थित छ । कोल्मा बासी यतिबेला माघ २६ गते पहिलो पटक आयोजना गरिएको क्रस कन्ट्रि सफल बनाउन लागि परेका छन । ५२ वर्षिय जित बहादुर गुरुङ भारतिय सेनाका रिटायर्ड सुबेदार मेजर समेत हुन । अहिले उनकै नेतृत्वमा माघ २६ गतेको कार्यक्रम सफल बनाउन सबै गाउँले एकजुट भएका छन । कोल्मामा किन पहिलो पटक क्रस कन्ट्रि आयोजना गरिदै छ यसको उद्धेश्य लगाएत सो बारे केही जानकारी सहित अध्यक्ष गुरुङ संगको कुराकानीः
क्रस कन्ट्री गर्नुको मुख्य उद्धेश्य के हो ?
यो गर्नुको मुख्य उद्धेश्य भनेको नै पछाडी परेको गाउँलाई पर्यटनका माध्यम बाट प्रवद्र्धन गर्ने नै हो । त्यसका साथ साथै गाउँका यूवालाई खेलको माध्यम बाट अभिप्रेरित गराउने तथा खेलमा उनीहरुलाई प्रोत्साहित गर्ने । गाउँ बाट शहर केन्द्रित पलायनलाई समेत न्यूनीकरण गर्ने यि प्रमुख उद्धेश्यका साथ हामी यो कार्यक्रम आयोजना गर्दैछौ । नेपाल सरकारले सन २०२० सम्म २० लाख पर्यटन भित्रायाउने जुन लक्ष्य लिएको छ त्यसलाई पनि यो कार्यक्रमका माध्यम बाट अगाडी बढाउने हाम्रो अर्को उद्धेश्य हो ।
कोल्मा कस्तो गाउँ हो ? खेलका माध्यम बाट यि सबै उद्धेश्य पुरा गर्न सकिएला त ?
कोल्मा, सात सय कोल्मा भनेर पनि चिनिन्छ, जसमा चार वटा गाँउहरु पर्छन, बहाकोट, राङभाङ र ओरष्टे र राइपुर जस्ता गाँउहरु पर्छन । अहिलेको संरचनामा फरक–फरक गाउ्रँपालिका र नगरपालिकामा परे पनि अन्यन्तै मिलेर बसेको संस्कृतीको धनी ठाउँ हो । स्याङजा जिल्लाकै पुरानो विद्यालय कोल्मा बराह विधालय पनि छ । अहिले यो विद्यालय ओझेलमा परेको छ । खेलकुदका माध्यम बाट यसको शाखलाई पनि माथी उठाउने गरि कार्यक्रम गरेका हौं ।
क्रस कन्ट्रि गर्दै हुनुुहुन्छ थप कार्यक्रमहरु पनि छन की ?
अहिले त हाम्रो एक दिने कार्यक्रम हो । पछि यसलाई महोत्सवको रुपमा अगाडी बढाउने सोचमा छौं । २६ गते बिहान हामी क्रस कन्ट्रि गर्छौ र दिउसो हामीले विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत जोडेका छौं । सांस्कृतिक कार्यक्रममा हाम्रो स्थानिय संस्कार संस्कृती झल्किने कार्यक्रम संगै राष्ट्रिय कलाकारहरुको प्रस्तुती पनि रहनेछ ।
गाउँमा पहिलो पटक यति ठूलो कार्यक्रम गर्दै हुनुहुन्छ कसरी सहयोग जुटाउँदै हुनुहुन्छ ?
हामी यसका लागि कोल्मामा गाँउ स्तरिय भेला गरिसकेका छौं । स्थानिय सरकार र पोखरा स्थित समाज, यूकेको समाज र त्यो भेगका जो जहाँ जहाँ हुनुहुन्छ उहाँहरु सबै संग सहयोगका लागि आह्वान गरेका छौं । सबैले साथ दिने जर्मको गर्नुभएको छ । हामी निकै उत्साहित छौं ।
यो कार्यक्रमका लागि कति खर्च लाग्ने अनुमान गर्नुभएको छ ?
अहिले हामिले प्रायोजनका लागि धेरै ठाउँमा कुरा गरेका छौं । स्थानिय तहमा निरन्तर छलफलमा छौं । गाउँलेहरुले पनि खुलेर सहयोग गर्नु भएको छ । धेरै जना संग समन्वय गरेर अगाडी बढेका छौ । धेरै बाट सहयोगको आश्वासन पनि पाएका छौं । पहिलो पटक आयोजना गरिएको यो कार्यक्रममा १४ लाख ५० हजार खर्च लाग्ने अनुमान गरेका छौं । गाउँलेहरुले श्रमदानको रुपमा पनि सहयोग गर्दैहुनुहुन्छ । विदेशिएका हाम्रा गाउँले वौद्धिक वर्गहरु पनि यो कार्यक्रमका बारेमा थाहा पाउनासाथ खुसी हुनुभएको छ र सहयोगका लागि आश्वासन पनि दिनुभएको छ ।
अहिले सम्म आइपुग्दा कस्ता चुनौतीको सामना गर्नुभयो ?
संस्था स्थापना गरेर नामाकरण गरेपश्चात थुप्रै साना देखि ठूला चुनौतीहरु आइपरे । कसैले हुन सक्दैन यो सम्भव नै छैन पनि भने । म पनि आर्मी ब्याकग्राउण्ड र खेल संग सम्वन्ध भएकोले होला चुनौतीको सामना गर्न रमाइलो लाग्छ । आफू संग खेलको थोरै ज्ञान छ जस्तो लाग्छ । त्यही भएर पनि केही गाउँले मित्रहरुले सहयोग गर्ने आँट पनि देखाएका छन सहयोग गरेका छन । पहिलो पटकको कार्यक्रम हो चुनौती अवश्य छन तर सबैको सहयोगले समाधान र सफल गर्न सकिन्छ भन्ने लाग्छ ।
गाउँलेहरुको सहभागिताका लागि के गर्दै हुनुहुन्छ ?
गाउँका टोल–टोलमा पुगेका छौं । भेला आयोजना गरेका छौ । अन्तिक्रिया गर्दैछौ । अहिले सम्म हामीले कार्यक्रम गरेका ठाउँका सबै उत्साहित भएका छन । अब हामी वृहद भेलाको तयारी समेत गर्दैछौं । राष्ट्रिय कलाकार वौद्धिक वर्गको ठूलो जमात माघ २६ गते कोल्मा पुग्ने भएपछि सबै गाउँकाहरु एकजुट भएर कार्यक्रम सफल बनाउनु पर्छ भन्नका लागि एकजुट हुँदैछन ।
माघ २६ विशेष दिन हो कोल्माका लागि ?
त्यस्तो केही होइन । हामीले पौष १५ मा यो कार्यक्रम गर्ने प्रयासमा थियौं तर पछि यसलाई वृहदनै गरौ भनेर माघ २६ का लागि निर्णय गरेका हौं । पुष १५ मा चिसो मौसम पनि हुने भएकोले खेलाडीलाई समस्या पर्ला कि भन्ने हामीलाई लाग्यो । तर अर्को वर्ष देखि यसलाई महोत्सबका रुपमा अगाडी वढाउने छौं ।
कस्ता खेलाडीहरुको सहभागिताका लागि अपेक्षा गर्नु भएको छ ?
३१ किलोमिटर क्रस कन्ट्रिमा राष्ट्रिय स्तरका खेलाडीका साथै भारतिए र वृटिश सेनामा कार्यरतहरु जो जो विदामा नेपाल आएका छन उनीहरुको पनि सहभागिता रहनेछ । त्यसका अलवा १३ कलिोमिटर दौडमा २१ वर्ष मुनिका खेलाडीको सहभागिता रहनेछ । त्यसमा पनि राष्ट्रिय स्तरका खेलाडीनै सहभागिता हुने हामीले आशा गरेका छौं ।
क्रस कन्ट्री सफल बनाउन अन्त्यमा केही भन्नु छ की ?
हामी कोल्माको भौगोलिक अवस्था र कठिन परिवेशमा यो कार्यक्रम आयोजना गर्दैछौं । हामी कोल्मा बासी जहाँ जहाँ छौं अब जुर्मुराउने बेला आएको छ । म सबैलाई माघ २६ गते आयोजना गरिएको यो क्रसकन्ट्रि सफल बनाउन कोल्मा आउन र सहयोगका लागि आह्वान गर्न चाहन्छु । विदेशमा टाढा रहेका आफन्तहरुलाई पनि आफू उपस्थित हुन नसके पनि नैतिक, भौतिक र आर्थिक रुपमा सहयोगका लागि आह्वान गर्छु ।