
पोखरा स्पोर्टस । छैटौं जुनियर रनिङ शिल्ड तेक्वान्दो उपाधि पोखरा १४ स्थित शहिद स्मृती स्कुलले उचालेको छ ।
कास्की जिल्ला तेक्वान्दो संघको आयोजनामा भएको प्रतियोगितामा ११ स्वर्ण, १ रजत र २ काश्य पदकसहित उपाधि उचालेको हो । यो सहित शहिद स्मृतिले पाँचौ पटक उपाधि उचालेको छ । उक्त स्कूलमा तेक्वान्दो प्रशिक्षकको रुपमा निशान कार्की रहेका छन् ।
शनिबार अवेर गरी सम्पन्न प्रतियोगितामा हिमालयन गोल्डन टाइगर डोजाङ उपविजेता बनेको छ । हिमालयनले २ स्वर्ण, १ रजत र ३ काश्य पदक जितेको थियो ।
प्रतियोगितामा पिपुल टुगेदर विथ डोजाङले तेश्रो स्थान हासिल गरेको छ । उक्त डोजाङले १ स्वर्ण,७ रजत र ३ काश्य पदक जित्न सफल भयो ।
प्रतियोगितामा वेष्ट फाइटरको उपाधि पुरुषतर्फ पिपुल टुगेदर विथ डोजाङका दिपक सुनुवार राई र महिलातर्फ शहिद स्मृतिकी सञ्जु शाही घोषित भइन् ।
प्रतियोगितामा विजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, संघका अध्यक्ष कुमार गुरुङ, उपाध्यक्ष कुलचन्द्र शर्मा, प्रतियोगिता संयोजक त्रिभुबन बाँनिया गुप्तालगायतले मेडल, प्रमाणपत्र र ट्रफी वितरण गरेका थिए ।
प्रतियोगितामा कास्कीका ३३ डोजाङ तथा स्कुलका २२८ जना खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा पुरुषतर्फ १७ देखि ४९ र र महिलातर्फ १७ देखि ४५ केजी तौल सम्म प्रतिस्पर्धा गराइएको थियो ।
