
पोखरा, ३ माघ ।
दोश्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाईनलको समिकरण पुरा भएको छ । पोखरा रंगशाला स्थित भलिबल ट्रेनिङ सेन्टरमा बिहिवार भएको क्वाटरफाईनल खेलबाट सफलता हात पार्दै एपीएफ, गण्डकी प्रदेश, प्रदेश ३ र पुलिस सेमिफाईनलमा स्थान पक्का गरेका छन् ।
पहिलो क्वाटरफाईनल खेलमा एपीएफले आर्मीलाई २५–१५,२५–१९ र २५–१६ को सोझो सेटमा हरायो । अर्को खेलमा गण्डकी प्रदेशले प्रदेश ५ लाई २५–१३, २५–६ र २५–१७ को सोझो सेटमा हराउदै सेमिफाईनलमा एपीएफसग भेट पक्का गरेको छ ।
त्यसैगरि प्रदेश ३ ले प्रदेश १ लाई २५–३, २५–१४ र २५–१० को सोझो सेटमा हरायो । नेपाल पुलिसले प्रदेश २ लाई २५–१४,२५–१४ र २५–१२ को सोझो सेटमा हराउदै सेमिफाईनलमा प्रदेश ३ सग भेट पक्का गरेको छ ।
राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको संयोजनमा संचालन भइरहेको प्रतियोगितामा विजेता टिमले प्रथमले नगद रु.३ लाख ५० हजार, दोश्रोले १ लाख ७० हजार, तेश्रोले १ लाख र चौथोले सान्त्वना स्वरुप रु. ५० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
प्रतियोगिताका साथै अन्य उत्कृष्ट विधाहरुमा बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट सेटर, बेष्ट लिब्रो, वेष्ट प्रशिक्षकलाई जनही रु. ५ हजार र उत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।