
पोखरा, २९ पुस ।
नेपालमा विभिन्न क्लबहरु संग आवद्ध रहेका विदेशी खेलाडीले अब देखि अनिवार्य रुपमा श्रम स्विकृती लिनु पर्ने भएको छ ।
नेपाली फुटबलको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)लाई उद्धृत गर्दै गोल नेपाल डटकमको समाचार अनुसार एन्फाले स्विकृती दिएका नेपालभरि आयोजना हुने करिब २३ गोल्ड कप खेल्नका लागि विदेशी खेलाडीले अनिवार्य रुपमा श्रम स्विकृती लिनु पर्ने प्रावधानलाई अगाडी बढाएको हो ।
एन्फाले विदेशी खेलाडीहरु मैदान छिर्नु अगावै नियमनुसार सबै विदेशी खेलाडीको श्रम स्विकृती भए नभएको बारे छानविन गर्न सबै आयोजकलाई आग्रह गरेको छ ।
एन्फाका अनुसार विभिन्न स्थानमा हुने फाइभ ए साइड, सिक्स ए साइड, सेभेन ए साइड र नाइन ए साइडलाई भने एन्फाले आधिकारिक मान्यता नदिएको कारणले लागु गरिएको यो प्रावधानले कुनै असर नर्पने जनाइएको छ ।
नेपालका केही पहाडी जिल्लामा संचालन भइरहेका एन्फा मान्यता प्राप्त खेलहरुमा विदेशी खेलाडीहरु श्रम स्विकृती विना खेलीरहेको भन्ने सूचनाका आधारमा यो व्यवस्था लागु गरिएको एन्फाले जनाएको छ ।
नेपालमा अहिले पनि १ सय ५० जना भन्दा बढी अफ्रिकी मुलका खेलाडी हरु रहेको र ति मध्ये ६० देखि ७० जना संग मात्र श्रम स्विकृती रहेको जनाइएको छ ।