
पोखरा, २९ पुस ।
पोखरामा माघ १ गते देखि ५ गते सम्म पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको आयोजनामा हुने “दोश्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७५” को सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
सो बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समितीका अध्यक्ष सम्पन्न श्रेष्ठका अनसुार प्रतियोगितामा विभागिय ३ टोली सहित सातै प्रदेशका गरि कुल १० टिमको सहभागिता रहने छ । माघ १ गते हुने उद्घाटन खेलमा आयोजक गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने भएका छन ।
प्रतियोगितामा विजेताले सम्भवत नेपालकै भलिबलकै इतिहासमा पहिलो पटक प्रथम नगद रु.३ लाख ५० हजार, दोश्रोले १ लाख ७० हजार, तेश्रोले १ लाख र चौथोले सान्त्वना स्वरुप रु. ५० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रतियोगिताका साथै अन्य उत्कृष्ट विधाहरुमा बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट सेटर, बेष्ट लिब्रो, वेष्ट प्रशिक्षकलाई जनही रु. ५ हजार र उत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार सहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
पश्चिमाञ्चल क्षेत्रिय अध्यक्ष श्रेष्ठका अनुसार प्रतियोगिता सम्पन्न गर्न ३८ लाख खर्च लाग्ने जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषदबाट रु. २५ लाख प्राप्त भएको अध्यक्ष श्रेष्ठले बताएका छन । खेलाडीहरुलाई सम्पूर्ण भ्रमण भत्ता, ट्रयाकसुट सहित अन्य खर्च व्यवस्थापन आयोजकलेनै गर्ने भएको छ ।
प्रतियोगिताका लागि आवश्यक रकमको व्यवस्थापन गर्न टिकटको व्यवस्था गरिएको समितीले जनाएको छ । दर्शकालागि खेल अवलोकनका लागि क्वाटरफाईनल सम्मका खेललाई रु. १ सय टिकट र सेमीफाइनल र फाइनल खेलको टिकट रु २ सयको व्यवस्था गरिएको छ । प्रतियोगितालाई भव्य रुपमा सञ्चालन गर्नका लागी समितिका अध्यक्ष सम्पन्न श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति, विभिन्न १४ वट उप– समितिहरु समेत गठन गरिएको छ ।
नेपाल भलिबल संघका सचिब डिबी नेपालीका अनुसार प्रतियोगितामा कुल १६ खेल सम्पन्न हुनेछन । जस अनुसार नेपाल पुलिस, प्रदेश नं १ र सुदुरपश्चिम प्रदेश पुल ए मा रहेकाछन । त्यसैगरि पुल बि मा प्रदेश नं ५, २ र कर्णाली प्रदेश, पुल सि त्रिभुबव आर्मी क्लब र पुल डि मा नेपाल पुलिस क्लब र गण्डकी प्रदेश रहेका छन । माघ १ र २ गते लिग खेलहरु हुने छन भने ३ र ४ गते क्वाटर फाइनल र सेमीफाइनलका खेलहरु सम्पन्न हुनेछन । माघ ५ गते तेश्रो स्थान तथा फाइनल खेल सम्पन्न हुने जनाइएको छ ।
पत्रकार सम्मेलनमा समितीका कार्यालय प्रमुख लक्ष्मण योगी, कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष एवम नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम बहादुर गुरुङ, कास्की जिल्ला खेलकुद समितीका कोषाध्यक्ष दिपक बहादुर गोदार, गण्डकी प्रदेश भलिबल प्रशिक्षक कौशिला खत्री लगाएतले प्रतियोगिताका विविध पक्षका बारेमा जानकारी दिएका थिए ।
यस संस्करणको पहिलो प्रतियोगिता रोल्पा जिल्लामा भएको थियो भने पुरुष तर्फको दोश्रो सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुनसरी जिल्लाको इटहरीमा गत पौष १९ गते देखी २३ गते सम्पन्न भै सकेको छ । उक्त प्रतियोगितामा गण्डकी भलिबलको पुरुष टिमले चौथो स्थान हासिल गरेको थियो ।