
पोखरा, २८ पुस ।
कास्कीको प्रमुख पर्यटकिय गन्तव्य र होम स्टेका लागि प्रख्यात सिक्लेसमा अवस्थित सिक्लेस यूबा क्लबले २४ औँ वार्षिकोत्सव एवम् सिक्लेस माघे संक्रान्ति मेला २०७५को अवसरमा विभिन्न खेलकुद सहित परम्परागत कार्यक्रमहरु आयोजना गर्ने भएको छ ।
सो बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्लबका उपाध्यक्ष पदम गुरुङले सिक्लेसमा परापूर्वकाल देखि मनाउँदै आएको माघे सक्रान्ती मेलालाई सिक्लेसलाई पर्यटन प्रवद्र्धनका साथै गन्तव्यका रुपमा अगाडी वढाउनका लागि आयोजना गरिएको बताए ।
क्लबका सचिब एवम मेला संयोजक मिलन गुरुङका अनुसार मेलाका अवसरमा पूरुष भलिवल, महिला भलिवल, पूरुष बास्केटबल, घैंटो फुटाई कार्यक्रम, रसाकस्सी प्रतियोगिता, महिलाहरुको लागि सियो धागो प्रतियोगिता, लोपोन्मुख लोक भाकामा बाबाआमाहरुको प्रस्तुती, लोक दोहोरीका साथमा विविध साँस्कृतिक कार्यक्रमहरु आयोजना हुनेछन । तिन दिन सम्म चल्ने मेलाको खर्च करिब १० लाख लाग्ने उनले जानकारी दिए ।
पुरुष भलिबल र बास्केटबलमा प्रथम र दोश्रो स्थान हासिल गर्ने टिमलाई क्रमश नगद रु ५० र ४० हजारका साथमा मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिने भएको छ । महिला भलिबलमा प्रथम र दोश्रो हुने टिमलाई क्रमश नगद २० र १५ हजारका साथमा प्रमाणपत्र, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार प्रदान गरिने क्लबले जनाएको छ । यसै गरि परम्परागत खेल रस्साकस्सीमा प्रथम र दोश्रोलाई नगद १५ र १० हजारका प्रदान गरिने छ ।
पराम्परागत छेलो हान्ने प्रतियोगितामा बिजयी हुने प्रथम र दोश्रो हुनेलाई क्रमश नगद ४० र ३५ हजार नगद प्रादन गरिने क्लबले जनाएको छ ।
कास्की जिल्लाको उत्तरपुर्वी भागको अन्नपूर्ण हिम श्रृंखलाबाट उत्पति भएको मादी नदीले बनाएको फाँट पाखोमा आधारित भएर बसेको सिक्लेस गाउँको इतिहास सायद नेपालको अरु धेरै पुरानो र ठुला ठुला गाउँहरुको भन्दा धेरै पुरानो लगभग १००० (एक हजार) बर्ष पुरानो भएको मानिन्छ ।
प्राकृतिक र भौगोलिक हिसाबले धप्राङ्गथर, लामाथर, हर्पूथर, सभाथर, कोँइथर र गैरीथर गरी ६ ओटा टोलमा रहेको सिक्लेस राजनैतिक वा प्रशानिक रुपले ५ ओटा टोलमा विभाजन गरिएको छ । पछिल्ला स्थानिय तहको तथ्याङ्क अनुसार करिव ४ सय ५० घरधुरि रहेको सिक्लेसलाई सात सय सिक्लेस भनेर पनि चिनिन्छ । यहाँको जाति–समूदायमा गुरुङ्गको संख्या बहुल्य छ भने विश्वकर्मा र परियारहरु पनि केही मात्रमा छन् ।