
पोखरा, २८ पुस ।
होङवान्जी न्युडायमण्ड कप दोश्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि बिभागिय टिम एपीएफले जितेको छ ।
शनिवार भएको फाईनल खेलमा एपीएफले साविक बिजेता न्युडायमण्डलाई ३–१ को सेटमा हराउदै उपाधि चुमेको हो । च्याम्पियन भएको एपीएफले ३ लाख १ हजार प्राप्त ग¥यो । उपविजेता न्यु डायमण्डले २ लाख १ हजारमा चित्त बुझाउनु प¥यो ।
एपीएफले पहिलो सेट १६–२५ ले गुमाए पनि खेलमा फर्कदै लगातार तीन सेट २५–२१,२५–२३ र २५–१८ ले आफ्नो पक्षमा पारेको थियो। फाईनलमा न्युडायमण्डकी प्रतिभा मालीले स्पाईकमा ३६,ब्लकमा ३ र सर्भरबाट ३ अंक जोडेकी थिईन् । त्यस्तै एपीएफकी एपीएफकी सरस्वती चौधरीले स्पाईकमा २८, ब्लकमा १ र सर्भरबाट २ अंक जोडेकी थिईन् ।
प्रतियोगिताको विधागततर्फको पुरस्कारमा न्यु डायमण्डको बर्चस्व रह्यो । बिजेता टिमकी सरस्वती चौधरी उत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले १५ हजार नगद प्राप्त गरिन् । न्यु डायमण्डकी प्रतिभा माली उत्कृष्ट स्पाईकर घोषित भईन् । न्यु डायमण्डकी सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर र ललितानाथ उत्कृष्ट क्विकर घोषित भईन् । न्यु डायमण्डकै अनिषा सुनुवार उत्कृष्ट सेटर र झरना श्रेष्ठ उत्कृष्ट सर्भर घोषित भए । एपीएफकी उषा विष्ट उत्कृष्ट ब्लगर चुनिदाँ ज्ञानेन्द्र विष्टले उत्कृष्ट प्रशिक्षकको अवार्ड हातपारे । विधागततर्फको उत्कृष्टले जनही ५–५ हजार नगद प्राप्त गरे ।
लिगकम नक आउटका आधारमा सञ्चालन गरिएको प्रतियोगितामा ८ टोली सहभागि थिए । पोखराको टप्स माबिलाई पराजित गर्दै अर्को विभागीय टिम पुलिसले तेस्रो स्थान हात पार्न सफल भयो । पुलिसले टप्सलाई २५–११,२५–२१ र २५–१४ को सोझो सेटमा हरायो । तेश्रो स्थान हात पारेको पुलिसले १ लाख १ हजार तथा टप्सले ५१ हजार हात पा¥यो ।
फाईनल खेल अन्तर्राष्ट्रिय रेफ्रीद्धय गौतमप्रसाद लासिवा र चन्द्रबदना राईले संचालन गरेका थिए । सुकेधारास्थित होङवान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजन संचालन भएको प्रतियोगिताको बिजेताले खेलाडी तथा टिमलाई सभामुख कृष्णवहादुर महरा,नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए । बिद्यागततर्फको उत्कृष्ट खेलाडीले प्राप्त गर्ने नगद पुरस्कारको प्रायोजन सेन्चुरी कमर्सियल बैंकले गरेको छ ।