डाक्टर भेटाउनु भएन भने मलाई भन्नुस् : सदस्य–सचिव विष्ट

काठमाडौं, १३ पुस ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले राखेप अन्तर्गत रहेको खेलकुद चिकित्सा तथा अनुशन्धान केन्द्रमा खेलाडी उपचार गराउन जादा डाक्टर नभेटिए आफूलाई जानकारी गराउन भनेका छन् ।

दीर्घायु गुरु अस्पतालको सहयोगमा केन्द्रले आयोजना गरेको प्राथमिक स्वास्थ्य उपचार सम्बन्धी कक्षा तथा बृहत स्वास्थ्य परीक्षणको उद्घाटनका अवसरमा सदस्य–सचिव विष्टले सो कुरा बताएका हुन् ।

‘खेलकुद चिकित्सा तथा अनुशन्धान केन्द्रमा उपचार गराउन जादा तपाईं राष्ट्रिय टिममा रहेका खेलाडीले डाक्टर भेटाउनु भएन भने मलाई मेरो मोबाइलमा मेसेज गरि दिनुस, सम्बन्धितलाई तुरुन्त कार्वाही हुन्छ, यो वा त्यो वहानामा कसैलाई उम्कन दिन्न’ सदस्य–सचिव विष्टले भने ।

सदस्य–सचिव विष्टले एक दिनको शिविरले केहि नहुने कुरा आफूलाई पनि थाहा भएको बताउदै तत्काललाई सुरुआतका रुपमा शिविर थालनी गरिएको बताए । उनले अब महिनाको कम्तीमा एक दिन राष्ट्रिय टिममा रहेका खेलाडीका लागि शिविर सञ्चालन गरिने पनि जानकारी गराए ।

सदस्य–सचिव विष्टले खेलाडीको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले अभियानको सुरुआत गरिएको बताउदै राष्ट्रिय खेलाडीले अब रोग बोकेर बस्नु नपर्ने र त्यसको जिम्मा राज्यले लिने बताए । फरक प्रसंगमा सदस्य–सचिव विष्टले आउने आर्थिक वर्षमा खेलकुदको बजेट १५ अर्बको हाराहारीमा हुने बताउदै कोरियाको विश्वविद्यालयसंग खेलाडीलाई प्रशिक्षणमा पठाउन प्रकृया अगाडि बढिरहेको पनि अवगत गराए ।

हाल विशेष प्रशिक्षणमा रहेका राष्ट्रिय टिमका ४३ खेलाडी र १६ प्रशिक्षकलाई लक्षित गरी कक्षा र शिविर सञ्चालन गरिएको हो । केन्द्रले पुस १८ गते सम्पूर्ण खेलाडी, प्रशिक्षक, कर्मचारी, पदाधिकारी र खेल पत्रकारलाई लक्षित गरी एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको केन्द्रका प्रमुख तिलक नेपालीले जनाएका छन् । दीर्घायुका डा. सुरज बलाय श्रेष्ठले खेलाडीको उपचारमा चौबीसै घण्टा उपलब्ध रहने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close