
काठमाडौ, २४ मंसिर ।
बिश्व ब्याडमिन्टन संघको तत्वाधान तथा बंगलादेश ब्याडमिन्टन संघको आयोजनामा बंगलादेशको राजधानी ढाकामा हुने “योनेक्स सनराईज बंगलादेश अन्तर्राष्ट्रिय च्यालेन्ज २०१८” मा सहभागि हुन नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठको नेतृत्वमा चार सदस्यीय नेपाली ब्याडमिन्टन टोली सोमबार बंगलादेश प्रस्थान गरेको छ ।
बंगलादेश प्रस्थान गर्ने खेलाडीहरुमा रत्नजित तामाङ्ग, दिपेश धामी, नङ्गशल देवी तामाङ्ग रहेका छन् । अमिता गिरी पढाईका क्रममा भारतमा रहेकाले त्यतैबाट बंगलादेश प्रस्थान गर्नेछिन् । मंसिर २५ देखि पौष १ गते सम्म संचालन हुने बंगलादेश च्यालेन्जमा नेपाली टोलीले पुरुष र महिला एकल, युगल तथा मिश्रीत युगलमा प्रतिस्पर्धा गर्ने टिम ब्यवस्थापक सुभाष श्रेष्ठले जानकारी गराए ।
ब्याडमिन्टन अम्पायर अर्याल, थापा र शाक्य बंगलादेश प्रस्थानबंगालादेश ब्याडमिन्टन संघको निमन्त्रणमा निर्णायकको भूमिका निर्वाह गर्न तीन अन्तर्राष्ट्रिय अम्पायरहरु उदय अर्याल, दीपक थापा र सुमित शाक्य पनि आजै त्यस तर्फ प्रस्थान गरेका छन् । ब्याडमिन्टन एशियाबाट मान्यता प्राप्त तीन नेपाली अन्तर्राष्ट्रिय अम्पायरहरुले बंगलादेशमा मंसिर २५ देखि पौष १ गते सम्म संचालन हुने “योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज २०१८” र पौष ३ देखि ८ गते सम्म संचालन हुने “योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय जुनियर सिरिज २०१८” का प्रतियोगिताहरुमा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।
थापा ब्याडमिन्टन एशियाका सर्टिफिेकेटेड अम्पायर हुन् भने अर्याल र शाक्य एग्रिगेटेड अम्पायर हुन् । थापा र अर्यालले मुलुक बाहिर थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । शाक्यले भने ब्याडमिन्टन एशियाको मान्यता प्राप्त गरे पश्चात पहिलो पटक मूलुक बाहिरको प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गर्दैछन् ।