
काठमाडौ, २२ मंसिर ।
शारिरिक सुगठन तर्फको आइएफबिबि प्रो क्वालिफायर खेल नेपालमा हुने भएको छ । उक्त प्रतियोगिता फेबु्रअरी १५–१६ मा हुने आइएफबिबिका नेपाल च्याप्टर सानु गुरुङले जानकारी दिएका छन ।
शारीरिक सुगठनका बादशाह मानिने हलिउड फिल्मका पूर्व स्टार र अमेरिकाको क्यालिफोर्निया राज्यका पूर्व गर्भनर आर्नोल्ड स्वेज्नेगर आवद्ध अन्तर्राष्ट्रिय फिटनेश फर बडिबिल्डिङ–प्रोफेशनल लिगले नेपालमा पनि यस खेलको विकाश र विस्तारका लागि अग्रसरता देखाएको जनाइएको छ । प्रतियोगिता आयोजनाका लागि विश्व बडिबिल्डिङका अर्का हस्ती बब चिकोरिलो नेपाल आउने छन भने उनले नै यो प्रतियोगिता सञ्चालन गर्नेछन् ।
नेपालमा पहिलो पल्ट आयोजना हुन लागेको यो प्रतियोगितामा २० भन्दा बढी राष्ट्रका खेलाडी नेपालमा भाग लिन आउने आशा गरिएको छं । प्रतियोगितामा कूल २ सयको हाराहारीमा खेलाडी सम्मिलित हुनेछन् भने यसको अनुमानित बजेट १ करोड ६८ लाख ४२ हजार ८ सय खर्च हुने अनुमान गरिएको छ ।
आइएफबिबि प्राफेशनल लिगले नेपाल च्याप्टरका लागि सानु गुरुङलाई ‘फ्रेन्चाईज’ दिने निर्णय गरेपछि अब नेपाली खेलाडीले पनि ‘प्रो कार्ड’ पाउने ढोका खुलेको आयोजकले जनाएको छ । नेपालले यो प्रतियोगिताका लागि ‘४ वटा ‘प्रो कार्ड’ लिइसकेको छ भने विश्वभरीका खेलाडीहरू यी ४ वटा ‘प्रो कार्ड’ जितेर अमेरिकाको लस भेगासमा हरेक वर्ष आयोजना हुने ‘मिस्टर ओलम्पिया’ मा भाग पाउने छन् । यो प्रतियोगितालाई ‘मिस्टर ओलम्पिया’ खेल्न अगाडी बढ्न सकिने आयोजकको दाबी छ ।
नेपालले ‘मेन्स फिजिक्स’, ‘क्लासिक फिजिक्स’, ‘मेन्स बडिबिल्डिङ’ र ‘ओमन्स फिटनेश’ तर्फको ‘प्रो कार्ड’ छ । छिमेकी भारतले अहिलेसम्म ‘प्रो कार्ड’ लिन नसकेको अवस्थामा यो नेपाली खेलकुद जगतका लागि ठूलो उपलब्धी रहेको नेपालका फ्रेन्चाइज सानु गुरुङले बताएका छन ।
आइएफबिबि प्राफेशनल लिगल विश्वको १ सय ७० भन्दा बढी देश आवद्ध छन् । अमेरिकी मिडिया कम्पनीले सन् २००४ देखि आइएफबिबि प्राफेशनल लिग सँग साक्षेंदारको रुपमा काम गर्दै आइरहेको र यो प्रतियोगिता आयोजनाले खेलमार्फत पर्यटनलाई टेवा पुर्याउन ठूलो सहयोग पुग्ने आयोजकले जनाएको छ ।