
पोखरा, १८ मंसिर ।
निजि तथा आवासिय विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजि तथा आवासीय विद्यालय एशोसियसन नेपाल, कास्की (एन प्याब्सान कास्की)को आयोजनामा एन प्याब्सान खेलकुद महोत्सव मंगलबार देखि शुरु भएको छ ।
महोत्सवको १२ औ सस्करण अन्तर्गत विभिन विधागत खेलकुद भएपनि औपचारिक उद्घान मंगलबार भएको हो । पोखरा रंगशालामा भएको महोत्सव २१ गते सम्म चल्ने छ । “एन प्याब्सान कास्कीको संकल्प : खेलकुद शिक्षाको अभिन्न अंग” भन्ने मुल नारा लिएको उक्त प्रतियोगितामा फुटबल, भलिबल, टेबुलटेनिस, ह्याण्डबल, बास्केटबल तथा एथलेटिक्स प्रतियोगिता जुनियर र सिनियर तहमा सञ्चालित हुनेछन् ।
महोत्सवमा नेसनल प्याब्सान, कास्कीमा आवद्घ ४५ विद्यालयका करिव ८ हजार खेलाडी विद्यार्थीले सहभागिता जनाउने र विद्यार्थी र अभिभावक गरी ३० हजारले अवलोकन गर्ने एन प्याब्सान कास्कीको दावि छ ।
एन प्याब्सान कास्कीको वार्षिक क्यालेन्डर अनुसार विद्यार्थीको उचित शारिरीक विकासका निम्ति तथा युगअनुसारको देशलाई आवश्यक खेलाडी उत्पादन गर्ने उद्देश्यले खेलकुद महोत्सवको आयोजना गरिएको हो । मंगलबार भएको मार्च पासमा कास्की मोडर्नाइज्ड एकेडेमी प्रथम, गोर्खा इंगलिस वोर्डिङ स्कूल द्धितीय, युनिभर्स वोर्डिङ स्कूल तृतीय र त्रिवेणी पब्लिक सान्त्वना भए ।
त्यसैगरी ह्याण्डबल छात्रा तर्फ अक्सफोर्ड स्कूल र चिल्ड्रेन्स एकेडेमी विजयी भए भने छात्रा बास्केटबल तर्फ गोर्खा इंगलिस वोर्डिङ स्कूल, हावर्ड एकेडेमी र न्यू ग्यालेक्सी बिजयी भए । त्यस्तै छात्र वास्केटबल तर्फ पुष्पसदन एकेडेमी, चिल्ड्रेन्स एकेडेमी र युनिभर्स वोर्डिङ स्कूल बिजयी भए ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल सरकारका संघीय खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बर्तमान सरकार खेलकुद क्षेत्रका विकासका लागि योजनावद्ध रुपमा अघि बढेको बताएका छन् ।
“खेल क्षेत्रको विकास नभईकन देश समृद्धि तर्फ वढ्न सक्दैन”– मन्त्रि विश्वकर्माले भने,“सुखी खुसी र समृद्धि नेपाल निर्माण गर्नका लागि खेल क्षेत्रको विकास गर्न योजनाका साथ अघि बढेको छ ।” उनले रंगशाला निर्माणका लागि अर्थ मन्त्रालयबाट १ अर्व ३२ करोड सुनिश्चिता भएको बताउदै छिट्टै टेन्डर आह्वान गरेर पोखरा रंगशाला निर्माणले तिव्रता पाउने विश्वास समेत दिलाए ।
मन्त्रि विश्वकर्माले सन २०१९ हुने सागका केहि खेलहरु पोखरा रंगशालामा नै हुने भएकोले यसलाई सफल बनाउने दायित्व पनि पोखरेलीकै हुने बताए । यो खेलकुद महोत्सवले खेल प्रति रुची बढाउने काम गरेको भन्दै एन प्याव्सान कास्कीलाई यस्ता गतिविधिलाई निरन्तरता दिन समेत उनले आग्रह गरे ।
नेशनल प्याव्सानका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले एन प्याव्सान कास्कीले खेल क्षेत्रमा जित्ने र सिक्ने काममा विद्यार्थीलाई सहभागित गराएको भन्दै आभार व्यक्त गरे । जिल्ला व्यापी खेलकुद महोत्सव गर्नेमा एन प्याव्सान कास्की नै पहिलो भएको बताउँदै उनले यहाँको सिकोबाट अहिले २६ जिल्लामा यस्ता कार्यक्रम सञ्चालन भएको जानकारी दिए ।
नेपाल ह्याण्डबल संघका अध्यक्ष तथा ओलम्पिक कमिटि सदस्य तेजबहादुर गुरुङले खेलाडी उत्पादन गर्न यो महोत्सव कोषेढुंगा सावित हुने बताए । पोखरा महानगर पालिकाका प्रवत्ता तथा वडा नंं ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले खेलकुद विकासमा महानगर लागि पर्ने बताए ।
एन प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको कार्यक्रममा द्वितीय उपाध्यक्ष केशवशरण पौडेलले स्वागत तथा सचिव मनकाजी गुरुङ र सहसचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।