
पोखरा स्पोर्टस । तेश्रो पोखरा महानगरस्तरीय स्क्वासमा मेन्स ओपनतर्फ आह्वान श्रेष्ठ र सृस्टिका उदास च्याम्पियन बनेका छन् । पोखरामा शनिबार अवेर सम्पन्न प्रतियोगितामा उनीहरु च्याम्पियन बनेका हुन् ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला स्कवास तथा र्याकेट संघको ब्यवस्थापनमा सम्पन्न प्रतियोगितामा आह्वानले फाइनलमा सुजन आचार्यलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्दा महिला तर्फ सृस्टिकाले आशुका रञ्जितलाई २–० कै सोझो सेटमा पाखा लगाउँदै च्याम्पियन बनिन् ।

च्याम्पियन बनेका आह्वान र सृष्टिकाले ट्रफी, मेडल र प्रमाणपत्रसहित समान नगद रु ८/८ हजार नगद हात पार्दा उपविजेता बनेका सुजन र आशुकाले ट्रफी, मेडल र प्रमागापत्रसहित समान नगद रु ४/४ हजार हात पारेको कास्की स्कवास तथा र्याकेट संघका अध्यक्ष प्रविन पालिखेले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
त्यस्तै प्रतियोगिताको भेट्रान्सतर्फ नवराज श्रेष्ठले राजु श्रेष्ठलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जिते । उपाधि बिजेता नवराजले नगद रु ८ र उपविजेता राजुले नगद रु ४ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
यसै गरी बिगिनर्स तर्फको फाइनलमा मनोरम बज्रचार्यले रिजन बुद्धाचार्य माथी ३–२ को कठिन जित निकाल्दै फाइनल स्पर्धामा बिजयी बने । उपाधि बिजेता मनोरमले नगद रु ८ र उपविजेता रिजनले नगद रु ४ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा बिजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका सांसद भिम कार्की, पोखरा महागर खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदार, कास्की जिल्ला स्क्वास तथा र्याकेट संघका अध्यक्ष प्रविन पालिखे, महानगर खेलकुदका सदस्य सचिब सुभाष खड्का, गण्डकी प्रदेश स्कवास् तथा र्याकेट संघका अध्यक्ष अशोक रञ्जितले नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे ।
दुई दिन सम्म सञ्चालन भएको प्रतियोगितामा ४० जना खेलाडीहरुले विभिन्न इभेन्टमा सहभागिता जनाएको कास्की जिल्ला स्क्वास तथा र्याकेट संघका सचिब सन्तोष घिमिरेले जानकारी दिए ।
समापनका अवसरमा सिङ्गापुरका स्क्वास खेलाड़ी टक बहादुर तिलिजाले स्कवास खेलको विकासका लागि तीन थान र्याकेट हस्तान्तरण गरेका थिए ।
