
पोखरा, १२ मंसिर ।
नेपाल र भारत काठमाण्डौमा जारी दक्षिण एशियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम ईभेन्ट्समा उपाधी नजिक पुगेका छन् ।
नेपालले सेमिफाईनलमा बंगलादेशलाई ३ – ० को जित निकाल्दै उपाधी नजिक पुगेको हो । नेपालका नविन श्रेष्ठले पुरुष एकलमा बंगलादेशका गौरव सिंहलाई २१।१३, १८।२१ र २१।१८ ले पराजित गरे । यस्तै महिला तर्फ रशिला महर्जनले बंगलादेशकी फारविन विन्ते ईमडाडलाई २१।८, २१।५ ले तथा नविन श्रेष्ठ र प्रिन्स दाहालको जोडीले बंगलादेशका गौरव सिंह र मंगल सिंहको जोडीलाई २१।१५, २१।१६ ले पाखा लगाउंदै विजयी भएका हुन् । अव उपाधीका लागि नेपालले भारतको सामना गर्ने भएको छ । यस अघि नेपालले मालदिभ्सलाई ४ । १ ले पराजित गर्दै समूह बिको विजेता हुदै बंगलादेशको सामना गरेको थियो । नेपाल यस स्पर्धामा अघिल्लो संस्करणको उप–विजेता टिम हो ।
यस्तै अर्को सेमिफाईनलमा भारतले श्रीलङ्कालाई ३ – ० ले नै पराजित गर्दै फाईनलमा नेपालको सामना गर्ने भएको हो । भारतले पुरुष एकलमा प्रियान्सु रजावतले श्रीलङ्काका रन्थुस्का शासिन्धुलाई २३ – २५, २१–१२ र २१–१७ ले हराए । यस्तै महिला एकलमा भारतकी मालविका बंसोदले श्रीलङ्काकी दिल्मी दियासलाई २१–१२, २१–१४ ले तथा पुरुष युगलमा भारतका बिष्णुबर्दन गौड र ध्रुव रावतको जोडीले श्रीलङ्काका चामथ दियास र चिराथ ईलुपेरुमाचीको जोडीलाई १९–२१, २१–९ र २१–१० ले पराजित गर्दै फाईनल यात्रा तय गरेको हो । भारत अघिल्लो संस्करणको विजेता हो ।