
पोखरा, १२ मंसिर ।
युकेमा क्रियाशील प्रभावशाली एवं अग्रणी सामाजिक संस्था तमु धिं युकेले पोखरामा भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा तमु धिं युकेद्धारा कास्की गल्फ संघका अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङलाई “आदर्श तमु २०१८”बाट सम्मान गरिएको हो । तमु धिं युकेको सल्लाहकार तथा नेपाल प्रतिनिधी समेत रहनुभएका मेजर गुरुङले तमु धिं युकेको विकास तथा उत्थान, तमु समुदाय एवं सामाजिक क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै तमु धिं युकेका अध्यक्ष ज्ञामबहादुर गुरुङ र आमा अध्यक्ष प्रेमा गुरुङले आदर्श तमुको सम्मानपत्रसहित फेटा, खादा, मायाको चिनोसहित सम्मान गर्नुभएको हो । तमु धिं युकेको विकास र उत्थानका लागि विशेष योगदान दिएका संस्थाका आजीवन सदस्यलाई उक्त सम्मान प्रदान गरिन्छ ।
सम्मानित मेजर रिटायर्ड लक्ष्मीप्रसाद गुरुङ एमभिओ बीइएमले आफु अत्यन्तै हर्षित भएको बताउनुहुदै सबैलाई सम्मान, उत्साहित र सेवा गर्ने संस्था तमु धिं युकेले सफलता प्राप्त गर्ने बताउनुभयो । संस्थामार्फत क्रियाशील रहदा सम्मानित हुने अवसरले आफु गौरवान्वित बनेको बताउनुहुदै उहाँले तमु धिं युकेको विकास र उत्थानका लागि सबै तमुहरुको साथ सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
यसरी नै कार्यक्रममा गत बैशाख १ गतेदेखि ८ गतेसम्म तमु धिं युकेद्धारा आयोजित तमुहरुको सभ्यता, सँस्कृति विकाश भएको ऐतिहासिक स्थल क्होला सोंथर भ्रमणमा पोखराबाट सहभागी मेजर लक्ष्मीप्रसाद गुरुङ(व्यवस्थापन संयोजक), डा.चन्द्रबहादुर गुरुङ, हुमबहादुर गुरुङ, युगबहादुर गुरुङ, दिपक गुरुङ र पुनम गुरुङलाई सहभागीताको प्रमाणपत्रसहित सम्मान गरिएको थियो । यस्तै गरी उक्त कार्यक्रममा तमु धिं युकेद्धारा नेपालमा आयोजित विभिन्न कार्यक्रम एवं गतिविधीहरुमा विशेष योगदान पुर्याएको भन्दै कास्की आवाज राष्ट्रिय दैनिक, ह्वाइट लोटस स्टुडियो(तमु मै ताँ), फोटो पत्रकार मनिलाल गुरुङलाई प्रसंसापत्र, मायाको चिनोसहित फेटा, खादाले तमु धिं युकेका अध्यक्ष ज्ञाम गुरुङले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा, धर्मकाया बुद्ध मण्डला निर्माण तथा व्यवस्थापन समितिकी अध्यक्ष रुद्रकुमारी गुरुङ मैनाले खादा द्धारा स्वागत र खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले अध्यक्ष ज्ञाम गुरुङलाई मायाको चिनो प्रदान गर्नुभएको थियो। उक्त कार्यक्रममा तमु धिं युकेका दिपक गुरुङले धर्मकाया बुद्ध मण्डला भुमिदान स्वरुप अध्यक्ष रुद्रकुमारी गुरुङ मैनालाई एक लाख रुपैयाको चेक हस्तान्तरण गर्नुभएको थियो ।