
पोखरा ६, मंसिर ।
नेपालका आबर हाडा र प्रणब मानन्धरको जोडीले पोखरामा आयोजित ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट १ मा प्रथम स्थान हासिल गरेका छन् । बिहिबार पोखरा रंगशालामा भएको संघर्षपूर्ण फाइनल खेलमा हाडा जोडीले नेपालकै इभ्याक जोशि र एकी जुवेन रावतको जोडी माथि ४–६, ६–४ र सुपरटाईमा १०–७ को कठिन नतिजा निकाल्दै प्रथम भएका हुन् ।
त्यसैगरि महिलातर्फ नेपालका सलोनी तामाङ्ग र सुभांङ्गी लक्ष्मी शाहको जोडीले प्रथम स्थान हाँसिल गरे । सलोनी जोडीले फाइनल खेलमा नेपालकै इशाश्री शाह र सर्वाङ्गी श्रेष्ठको जोडीलाई ६–४, ७–६ को सेटमा पराजित गर्दै पहिलो नम्बरमा आएका हुन् ।
मेन्स सिंगल्सतर्फ आरब हाडा र अकी जुवेन रावतले फाइनलमा स्थान सुरक्षित पारेका छन् । आरबले भारतका रोहन पटेललाई ६–१, ६–१ को सहज सेटमा पराजित गर्दै फाइनलमा पुगेका हुन् भने अकीले नेपालका इभ्याक जोशिलाई ६–४, ६–२ को सेटमा पराजित गर्दै आरब संगको भेट निश्चित गरेका हुन् ।
सर्किट १ अन्तर्गतका अन्य फाइनल खेल शुक्रबार दिउसो हुने आयोजक कास्की जिल्ला टेनिस संघका महासचिव नविन चालिसेले जानकारी दिए । सोमबारदेखि सर्किट २ का खेलहरु शुरु हुने पनि उनले जनाए ।