
पोखरा, ३ मंसिर ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा सोमबार देखि ट्रेकर्स इन एशियन टेनिस फेडेरेशन (एटिएफ) यू–१४ अण्डर टेनिस च्याम्पियनशिप सर्किट १ र २ को प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उदुघाटन गर्दै राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्य राजेश गुरुङले भोलीका कर्णधार बालबाललिकाले खेलकुद संगै आफ्नो अध्ययन पनि अघि बढाउन उत्तिकै महत्वपूर्ण रहेको बताएका छन । उनले खेलाडीलाई राज्यले दिने भन्दा पनि लुट्ने गरेको प्रशङ्ग राख्दै खेलकुदमा बढ्दो राजनितिक चलखेलले समस्या बल्झिएको बताए ।
अहिले नेपालको खेलकुद लथालिङ्ग रहेको बताउँदै बोर्ड सदस्य गुरुङले नेपालमा खेलकुद संघ दर्ता गरेर खेलकुदका नाममा केही नगरि झोलामा लिएर हिड्ने संघहरुलाई खारेज गर्नुपर्ने बताए । उनले पोखरामा १३ औं दक्षिण एशियाली खेलकुदको भब्य तयारी संगै अब हिजो खेलकुद के थियो भन्दा पनि नयाँ सोचका साथ फड्को मार्नुपर्नेमा जोड दिए । उनले कुनै पनि पूर्वाधार निर्माण गरेर पछि पश्चताप गर्नु भन्दा पहिलेनै त्यसलाई योजनावद्ध ढङले अगाडी बढाउनु पर्ने धारणा राखे ।
उद्घाटन कार्यक्रममा कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले कास्की टेनिसले अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरु आयोजना गरेर जुन गति लिएको छ त्यो सबैको लागि प्रेरणा रहेको बताए । कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष नारायण पहारी, सचिब नबिन चालिसे लगाएतले मन्तब्य राखेका थिए ।
मंसिर १५ गते सम्म संचालन हुने प्रतियोगितामा १० वर्ष भन्दा माथी र १४ वर्ष भन्दा मूनीका महिला तथा पुरुष दुबै तर्फको प्रतियोगिताका लागि १ सय भन्दा बढी खेलाडीको सहभागिता रहेकोछ । पहिलो सर्किटमा पुरुष ३२ र महिला २५ र दोश्रो सर्किटमा पुरुष ३० र महिला २२ जना खेलाडीले प्रतिष्पर्धा गर्दैछन ।
नेपाल बाट यो प्रतियोगितामा एशियामा पुरुष जुनियर यू–१४ तर्फ २४ औं रेङ्किङ तथा नेपालका नं १ बरियाता प्राप्त खेलाडी आरभ हाडा, एशियामा १६० औं रेङ्किङ तथा नेपालका नं २ बरियाता खेलाडी अकी राउत र एशियाका १६६ औं रेङ्किङ तथ नेपालका नं ३ बरियाता प्रणाम मानन्धरको सहभागिता रहेकोछ ।
त्यसै गरि महिला तर्फ एशियामा ६० औं रेङ्किङ सलोनी तामाङ, ६७ औं रेङ्किङ सर्बानी श्रेष्ठ र ११२ रेङ्किङ इशा श्री शाहको पनि प्रतियोगितामा प्रतिष्पर्धा गर्दैछन । प्रतियोगितामा सहभागी खेलाडीले आफ्नो ब्यक्तिगत रेङ्किङ सुधार गर्ने अबसर पाउने छन भने बिजयी खेलाडीले मेडल र प्रमाणपत्र पाउनेछन । प्रतियोगितालाई ट्रेकर्स इन होटलले मुख्य प्रायोजन गरिरहेको छ ।
पोखराका खड्काको बिजयी शुरुवात
कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि पोखरामा ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट १ र २ शुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपालका सौगात खड्काले विजयी शुरुवात गरे । उनले नेपालकै सफल श्रेष्ठलाई ६–०, ६–३ को सोझो सेटमा जित हाँसिल गरेका हुन् । भारतका अचिन्ता बर्माले पनि पहिलो खेलमा जित दर्ता गराए । बर्माले नेपालका चिराग तिमिल्सीनामाथि ६–७, ६–४ र ६–२ को कठिन जित निकाले ।
नेपालकै इशान गुरुङ्गले स्लोक कैसर खड्कालाई ६–४, ६–१ ले, प्रितम परियारले निहाल जंगबहादुर थापालाई ६–१, ७–६ ले, श्रेयास पौडेलले श्रीयोग अधिकारीलाई ६–३, ३–६ र ६–३ ले पराजित गरे । नेपालका राज बिर प्रधानले भारतका आयुष भारद्वाजलाई ६–०, ६–३ ले, आयुष्मान अजुर घलेले सञ्जय पहारीलाई ६–०, ६–० ले, रक्षम बिक्रम शाहले आयुष पहारीलाई ६–०, ६–३ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएका छन् ।
महिलातर्फको खेलमा श्रीया भट्टराईले अद्या पौडेललाई ६–२, ६–२ ले, इशाश्री शाहले सुनिरा थापालाई ६–२, ६–२ ले तथा सुभाङ्गी लक्ष्मी शाहले प्रकृती श्रेष्ठलाई ६–४, ६–३ ले पराजित गरेकी छन् ।