परिषद द्वारा पारा ओलम्पियनलाई आजीवन भत्ता

काठमाडौं, १ मंसिर ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तीन पारा ओलम्पियन खेलाडीलाई आजीवन मासिक भत्ता शनिबार प्रदान गरेको छ । पारा ओलम्पियन विक्रमबहादुर राना, लक्ष्मी कुँवर र मैया विशंखेलाई गत साउनदेखि कात्तिक महिनासम्मको मासिक ३ हजारका दरले जनही १२ हजार नगद राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रदान गरे ।

एथलेटिक्सका विक्रमले लन्डन र ब्राजिल पारा ओलम्पिक, पौडीकी लक्ष्मी कुँवरले ब्राजिल पारा ओलम्पिक तथा एथलेटिक्सकी मैयाले लन्डन पारा ओलम्पिकमा सहभागिता जनाएका थिए ।

गत असोजमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा बसेको राखेपको ११० औं बोर्ड बैठकले पारा ओलम्पिकमा सहभागी खेलाडीलाई पनि गृष्मकालीन ओलम्पिकमा सहभागी खेलाडी सरह आजीवन मासिक भत्ता प्रदान गर्ने निर्णय गरेको थियो । १९६४ एता गृष्माकालिन खेलकुदमा सहभागी ५९ खेलाडीलाई राखेपले मासिक ३ हजारका दरले साउनदेखि भत्ता उपलब्ध गराउन थालेको राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्रकुमार राईले जनाएका छन् ।

रकम हस्तान्तरणपछि सदस्य–सचिव विष्टले केहि प्राविधिक कारणले पारा ओलम्पियन खेलाडीलाई भत्ता दिन ढिलाइ भएको बताउदै आगामी दिनमा रकम बृद्धि गर्दै लैजाने प्रतिबद्ध जनाए । सदस्य–सचिव विष्टले रकम सानै भएपनि यस्ले खेलाडीलाई प्रोत्साहन गर्नुका साथै मनोबल बृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close