१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु, चिप्सको प्रयोग हुने

पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते आयोजना हुने १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु भएको आयोजकले जनाएको छ ।

मञ्चले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरी म्याराथनको तयारी सुरु भएको जनाएको हो । म्याराथनको तयारी बारे जानकारी दिंदै मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले पहिलो पटक चिप्सको प्रयोग हुने जानकारी दिए । अध्यक्ष पराजुलीका अनुसार खुला म्याराथन र महिला हाफ म्याराथनतर्फ चिप्सको प्रयोग हुने उनले बताए । उक्त चिप्स नेपाल रन युकेले सहयोग गर्ने भएको अध्यक्ष पराजुलीले जनाए ।

सिटी म्याराथनको अवधारणामा आयोजना हुँदै आएको नेपालकै जेठो म्याराथन पोखरा म्याराथनमा यस वर्ष पुरस्कार राशीमा समेत वृद्धि गरिएको अध्यक्ष पराजुलीले जानकारी दिएका छन् । म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था ‘एसोसियसन अफ इन्टरनेशनल म्याराथन्स एण्ड डिष्टेन्स रेसेस’ (एम्स)मा दर्ता भए पछि आयोजना हुन लागेको म्याराथन खुलातर्फ पहिलो हुनेले ५ लाख, दोश्रोले ३ लाख, तेश्रोले २ लाख र चौथोले नगद रु ३० हजार प्राप्त गर्ने अध्यक्ष पराजुलीले जानकारी दिए ।

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत ८ वटा इभेन्टहरु एकै पटक एकै दिन हुने जानकारी दिंदै इभेन्ट अन्तर्गत खुला म्याराथन ४२.१९५ किमि, २१.०९७ किमि हाफ म्याराथन महिला, महिला/पुरुष १० किमि दौड, विद्यालयस्तरिय छात्र/छात्रा ५ किमि दौड, महिला/पुरुष ह्विल चियर तथा दृष्टिविहिन दौड हुनेछन् भने संगै वर्षको एक दिन दौडिन पर्छ भन्ने सन्देश दिन ‘रन फर फन’ हुनेछन् । पोखरा म्याराथन अन्तर्गत यो वर्ष एकै पटक २० हजार दौडने लक्ष्य लिइएको आयोजकको दावी छ ।

खुला म्याराथनतर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्सहान गर्न छुट्टै पुरस्कारको व्यवस्था गरिएको जानकारी दिंदै अध्यक्ष पराजुलीले महिला हाफ म्याराथनमा समेत पहिलो, दोश्रो, तेश्रो र सान्त्वानहुनेले नगद रु १ लाख ५० हजार, १ लाख, ७५ हजार र १५ हजार प्रदान गरिनेछ । त्यसै गरी ५ किमि महिला तथा पुरुष, ५ किमि छात्र/छात्रा दौड, ह्विल चियर र दृष्टिविहिन महिला तथा पुरुष दौड हुने र सबै दौडहरुमा पुरस्कार राशीमा समेत वृद्धि गरिएको मञ्चले जनाएको छ ।

१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७९ लाई व्यवस्थित रुपमा संचालन गर्न २३ वटा विभिन्न उपसमिति गठन गरीएको र पोखरा म्याराथनको कुल खर्च ९३ लाख खर्च हुने आयोजकले जनाएको छ । पुरस्कार राशीमा मात्रै १७ लाख ५२ हजार खर्च हुने आयोजको भनाई छ ।

पोखरेली प्रतिष्ठित औधोगिक प्रतिष्ठान लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरी प्रालिको मुख्य उत्पादन सफल दुधको मुख्य प्रायोजनमा हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालय, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी,  प्रदेश खेलकुद परिषद गण्डकीले सहयोग गरेको छ ।

त्यसै गरी पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनरको रुपमा पोखरेली मञ्च युके, नेपालको प्रतिष्ठित बैंक कृषि विकास बैंक बैकिङ पार्टनरको रुपमा रहने छ भने, स्पोर्टस वेयर एक्स–टेप, केल्मी, समाजसेवी तथा व्यवसायी पोखरा १६ अर्मला घर भई हाल युके निवासी दुर्गा गुरुङ, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखरा १४, कुमुदिनी होम्स् मावि, हिमेक्स नेपाल, हिमालयन कम्प्युटर, वुमर्‍याङ रेष्टुरेन्ट, तमु धि युके, सहारा युके, मुङलान रेष्टुरेन्ट एण्ड बार, बगर भाई खलक यूके, समाजसेवी जोनी पहारी, पोखरा पर्यटन परिषद लगायतले सहयोग गर्ने संगै सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रवद्र्धकको रुपमा नेपाल पर्यटन वोर्ड रहेको आयोजकले जनाएको छ ।

सम्पन्न पत्रकार सम्मेलनमा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङ, संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट लगायतले पोखरा म्याराथनको विविध पक्षबारे जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close