
पोखरा, २६ कार्तिक ।
नेपाल भलिबल संघको आयोजना र राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा चौथो राष्ट्रिय पुरूष क्लब लिग भलिबल प्रतियोगिताको पुस १ गतेबाट पोखरामा हुने भएको नेपाल भलिबल संघले जनाएको छ ।
पोखरामा पहिलो पटक हुन लागेको यस प्रतियोगितामा चौथो राष्ट्रिय क्लब च्याम्पियनशिप बाट छनोट भएका क्लबले लिगमा प्रतिस्पर्धा गर्ने संघले जनाएकोछ ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफसँगै बुटवलको मणिमुकुन्द भलिबल क्लब, जावलाखेल भलिबल तालिम केन्द्र, ढोरपाटन तालीम केन्द्र, हेल्प नेपाल स्पोर्टस् क्लब र नयाँबजार युवा क्लब सहभागी रहने छन् ।
पोखरा रंगशालामा पुस ७ गतेसम्म हुने प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा हुनेछ । यद्यपी लिग चरणको शीर्ष स्थानमा रहने टोलीलाई विजेता मान्ने वा फाइनल खेलाउने भन्ने बारे संघले केही प्रष्ट बनाएको छैन ।
गत वर्ष राष्ट्रिय वाणिज्य बैंकले महिला र पुरुषको लागि २० लाख रुपैयाँ प्रायोजन सम्झौता गर्ने निर्णय गरेको थियो । सो सम्झौता अनुरुप पोखरामा पहिलो पटक यो प्रतियोगिता आयोजना हुन लागेको हो ।
प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख पाउनेछन् भने तेस्रो र चौथो हुनेले ५० र २५ हजार रूपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट लिबेरो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर र प्रशिक्षकले जनही ५–५ हजार रूपैयाँ पाउनेछन् ।