
पोखरा, १७ कार्तिक ।
पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेटमा पोखरा पल्टनले काठमाण्डौ रोयल हुलासलाई ४ बिकेटले जितेको छ । टस जितेर ब्याटिङको निम्तो दिएको पोखराले काठमाण्डौलाई १९.१ ओभरमा अलआउट गर्दै १०३ रनमा रोकेको थियो ।
पोखराको यो जित संगै बुटवल बलाष्टर र बिराटनगर टाइटान्स प्रतियोगिता बाट बाहिरिएका छन । पोखरा गणितिय हिसाबमा अहिले शिर्ष स्थानमा छ । पोखराले १०४ रनको लक्ष्य १६.१ ओभरमा ६ विकेट गुमाउँदै प्राप्त गरेको थियो । पोखराका मोहमद नाभिदले विष्फोटक पारी खेल्दै १५ बलमा ५ छक्काको मद्धतले ३६ रन बनाए । उनी खेलको म्यान अफ दि म्याच समेत भए ।
पोखराका ओपनर द्वय कुशल भुर्तेलले १४, आशिफ शेखले १६, रबी इन्दर सिंहले २२ र रोहित कुमार पौडेलले १५ रन जोडे । काठमाण्डौका लागि अमर रौतेलाले २.५ ओभरमा ३९ रन खर्चिदै ३ बिकेट हात पारे । यसै गरि नन्दन यादव र पवन सर्राफले समान १–१ बिकेट लिए ।
यता काठमाण्डौका ज्ञानेन्द्र मल्ले ३१ रन, अमित श्रेष्ठले २१, र बसन्त रेग्मीले २१ रन बनाएका थिए । पोखराका लागि ललित राजवंशीले ४ ओभरको स्पेलमा १८ रन दिंदै ३ विकेट लिएका थिए । पोखराका लागि मोहमद नाभिद र राशिद खानले समान २–२ विकेट हात पारे ।