
पोखरा, १६ कार्तिक ।
पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगितामा शुक्रबार सम्पन्न दोश्रो खेलमा काठमाण्डौ रोयल्सले बुटबल बलाष्टरलाई ३७ रनले हराउँदै प्ले अफमा पुगेको छ ।
जारी प्रतियोगितामा काठमाण्डौ द्वारा दिएको १७३ रनको लक्ष्य पछ्याउने क्रममा बुटवल २० ओभरमा ९ बिकेट गुमाउँदै १३७ रन मात्रै बनाउन सक्यो । बुटवलका रोहन मुस्ताफाले ५१ बलमा ६१ रनको पारी खेल्दै बुटवललाई उकास्ने प्रयास गरे पनि बसन्त रेग्मीको बलमा एलबिडब्लु धरापमा पर्दै पेभियिन फर्केका थिए । बुटबलका कुनै पनि व्याट्स्म्यान काठमाण्डौका बलर सामु खासै रन जोडन सकेनन ।
बुटबलका लागि चिराग सुरीले ११, भिम सार्कीले १२, सिद्धान्त लोहनीले १३ रन बाहेक अन्य खेलाडीले दाहोरो अंकनै बनाउन सकेनन । काठमाण्डौ रोयल्सका लागि बलर अमर रौतेलाले ४ ओभरमा २३ रन खर्चिदै ३ विकेट हात पारे । बसन्त रेग्मीले ४ ओभरको स्पेलमा २० रन दिंदै २ र नन्दन यादबले ४ ओभरमा १५ रन दिंदै २ विकेट लिए ।
खेलमा काठमाण्डौ रोयल्सका नरेश बुडायर म्यान अफ दि म्याच घोषित भए ।