
पोखरा, १३ कार्तिक ।
नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको संझनामा नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा आठौं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता कार्तिक २७ गतेबाट काठमाण्डौमा हुने भएको छ । २०६८ सालबाट ¥याङकीङ्ग प्रतियोगिताबाट सुरु गरिएको प्रतियोगिता आठौं संस्करण सम्म आईपुगेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने प्रतियोगिताामा पुरुष तथा महिला एकल तथा युगल, यु — १७ छात्र तथा छात्रा एकल र भेट्रान्स (४५ बर्ष माथी) जोडी गरि ७ बिधामा प्रतिस्पर्धा हुने संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठले जानकारी गराए ।
करिब १२ लाख लागतको अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष÷महिला एकलमा शिर्ष तीन स्थान हात पार्नेले मेडल, ट्रफी प्रमाण पत्रका साथै नगद ५० हजार, २५ हजार र १० हजार, युगल तर्फ २०, १० र ५ हजार प्राप्त गर्ने छन् । यस्तै यु — १७ तर्फ छात्र तथा छात्रा दुवै तर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १५ हजार, ७ हजार र ५÷५ हजार सहित मेडल, प्रमाण पत्र, ट्रफी प्राप्त गर्ने छन् । यसैगरि भेट्रान्स तर्फ बिजयी शिर्ष तीन स्थानकाले मेडल, ट्रफी तथा प्रमाण पत्रका साथै खेलकुद सामाग्री प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले बताए ।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा करिव २०० खेलाडीहरुले सहभागित जनाउने आयोजकले जनाएका छन् ।
प्रतियोगिताको सातौं संस्करणमा पुरुष एकलमा सेनाका रत्नजित तामाङ्ग, महिला तर्फ पूर्वाञ्चलकी जेशिका गुरुङ्ग, पुरुष युगल तर्फ सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडी तथा महिला तर्फ नङ्गशल तामाङ्ग र अनु राईको जोडी बिजयी भएका थिए । यस्तै यु —१७ मा छात्र तर्फ सेनाका प्रफुल महर्जन र छात्रा तर्फ पूर्वाञ्चलकी जेसिकाले बाजी मारेका थिए । यस्तै भेट्रान्स तर्फ धनकुटाका योगश्वर श्रेष्ठ र किरण प्रधानको जोडी पहिलो स्थान प्राप्त गर्न सफल भएको थियो ।