१३ औं साग खेलकुद सेप्टेम्बर २०१९ मा, विभिन्न उपसमिति गठन

काठमाडौं, ११ कात्तिक ।
नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) छ महिना पछि सरेको छ । २०१९ मा मार्चमा गर्ने भनिएको साग अब सेप्टेम्बर २०१९ मा सार्नलाई आग्रह गरिने छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी तथा व्यवस्थापन समितिको बैठकले आइतबार विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा बसेको समितिको तेश्रो बैठकले विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको समितिका सदस्य–सचिव समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले जनाएका छन् ।

उपसमितिअन्तर्गत आवास व्यवस्थापनमा तेज गुरुङ, यातायात व्यवस्थापनमा शिव कोइराला, सुरक्षा व्यवस्थापनमा विज्ञानराज शर्मा, स्वयंसेवक परिचालनमा विनोद श्रेष्ठ, खेल स्थल तयारीमा टासी घले, काठमाडौं महानगरपालिका श्रोत साधन परिचालन तथा समन्वयमा काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य, पोखरा महानगरपालिका श्रोत साधन परिचालन तथा समन्वयमा पोखराका मेयर मानबहादुर जिसी र ललितपुर महानगरपालिका श्रोत साधन परिचालन तथा समन्वयमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई संयोजक तोक्ने निर्णय भएको छ ।

त्यस्तै मस्कट, लोगो, गीत र नारा मुल्याङ्कन तथा सिफारिस उपसमितिमा राखेपका सदस्य–सचिव विष्ट, निर्देशिका तथा कार्यविधि तयार गर्ने कार्यदलमा खेलकुद मन्त्रालयका सह–सचिव अणप्रसाद न्यौपाने र बजेट तयारी कार्यदलमा राखेपका सदस्य–सचिव विष्टलाई संयोजक तोकिएको छ ।

बैठकले यसअघि २०१९ को मार्चमा गर्ने भनिएको १३ औं सागलाई सोही वर्षको सेप्टेम्बरमा सार्नलाई सम्बन्धित निकायमा प्रस्ताव गर्ने निर्णय समेत गरेको सदस्य–सचिव विष्टले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close