बुटबल ब्लास्टर्स र काठमाण्डौं रोयल्स विजयी

पोखरा १० कार्तिक ।
बुटबल ब्लास्टर्स र काठमाण्डौं रोयल्सले शनिबार पोखरामा भएको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा जित हासिल गरेकाछन ।

पोखरा रंगशालामा शनिबार भएको पहिलो खेलमा बुटबल ब्लास्टर्सले चितवन राइनोजलाई ७० रनले पराजित गर्दै आफ्नो खातामा दुई अंक बटुल्न सफल भएको छ । एक सय ३६ रनको लक्ष्य पाएकोे चितवन १७ ओभरमै ६५ रनमा अलआउट हुन पुग्यो ।

तीव्र गतिका बलर कप्तान सोमपाल कामीले घातक बलिङ गरेपछि कप्तान पारस खड्काको टिम चितवन बुटबल सामु निरीह जस्तै भएको थियो । सोमपालले ३ ओभरमा ८ रन खर्चेर ४ विकेट लिएका थिए । उनले ओपनर अनिल साह, कप्तान पारस खड्का, आरिफ शेख र स्मित पटेललाई आउट गरेका थिए । चितवनका दुवै ओपनर शून्यमा आउट भएका थिए ।

चितवनका लागी भुवन कार्कीले सर्वााधक १९ रन तथा कप्तान पारस खड्काले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बुटवलका लागि सोमपालले ४, ललित सिंह भण्डारीले २ तथा रोहन मुस्तफा, विपिन खत्री र अभिनाश बोहोराले १÷१ विकेट लिएका थिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बुटवलले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो । खराब सुरुवात गरेको बुटवलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान सागर पुनले ४६ रनको योगदान दिए । सागर र शंकर रानाले चौथो विकेटको लागि ६८ रनको साझेदारी गरेका थिए । शंकर रानाले ४८ रन बनाए । सिद्धान्त लोहनी १७ रनमा नटआउट रहदा कप्तान सोमपाल कामीले ६ रन जोडे।

नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले आफ्नो स्पेलको पहिलो ओभरको पाँचौ र छैटौ बलमा चिराग सुरी र रोहन मुस्ताफालाई लगातार आउट गरेका थिए । बुटवल ब्लाष्टरका सागर पुन बेष्ट क्याच घोषित भए । खेलको म्यान अफ दि म्याच प्रतियोगितामै सर्वााधक विकेट लिएका बुटबल ब्लास्टरका टिम क्याप्टेन सोमपाल कामी घोषित भए उनले नगद दस हजार रुपैयाँ र शिल्ड प्राप्त गरे भने विनिङ्ग टिम बोनस १५ हजार पाँच सय रुपैया समेत हात पारे ।

गौरव तोमरले आक्रामक ब्याटिङ गरेपछि पोखरा प्रिमियर लिगअन्तर्गत शनिबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले एक्स्पर्ट धनगढी ब्लुजलाई १ सय ८१ रनको लक्ष्य दिएको थियो । १ सय ८१ रन पछ्याएको धनगढी निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ६३ रनमै सिमित भयो । टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले ३ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो । तेस्रो ब्याटिङ गर्न आएका गौरवले ४४ बलमा ९५ रन बनाए । उनले ४ चौका र १० छक्का प्रहार गरेका थिए । गौरव र नरेश बुढाएरले ९६ रनको साझेदारी गरे गर्दा नरेशले २४ बलमा २ चौका र २ छक्कासहित ३६ रन बनाए ।

धनगढीको लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ रनको अर्धसतकिय इनिङ्स खेलेपनि टिमलाई जिताउन भने सकेनन । उनले ४२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । जोराले ३ छक्का र १ चौका प्रहार गरी २७ रन बनाए ।

खेलको म्यान अफ दि म्याच काठमाडौंका भारतीय खेलाडी गौरव तोमर घोषित भए उनले नगद दस हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरे भने फास्टेष्ट फिप्टि पनि उनी घोषित भए । त्यस्तै बेष्ट क्याच काठमाडौंकै पृथु बास्कोटाले हात पारे । काठमाडौंले विनिङ्ग बोनस समेत हात पारेको छ ।

भोलिको खेल बिराटनगर टाईटन्स र एक्सपर्ट धनगढी बिच पहिलो खेल हुने भएको छ भने त्यसै गरी दोश्रो खेलमा बुटवल बिरुद्ध पोखरा पल्टन बिच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close