
पोखरा, ९ कार्तिक ।
पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा पोखरा पल्टन बिराटनगर टाइटान्स संग ५८ रनले बिजयी भएको छ । पोखरा पल्टनले टस हारेर ब्याटिङ गर्दै १९८ रनको लक्ष्य दिएको भए पनि पोखरा पल्टनले बिराटनगरलाई २० ओभरमा ८ विकेटको क्षतिमा १३९ रनमानै रोक्न सफल भएको हो ।
पोखराको क्रिकेटमा मैदानमा बनाएको नयाँ पिचमा पोखरा पल्टनका बिनोद भण्डारी नटआउट रहदैं ११ बलमा ४१ रनको विष्फोटक पारीको मद्धतले ३ विकेट गुमाउँदै १९७ बनाएको हो । खेलका म्यान अफ दि म्याच भण्डारीले आफ्नो ४१ रनको पारीमा ५ छक्का र २ चौका प्रहार गरेका थिए । पोखराका लागि ओपनर कुशल भुर्तेल र मोहम्मद आरिफ शेखले ५३ रनको साझेदारी गरेका थिए । कुशल सन्दिपको बलमा ३८ रनमा आउट भएका थिए । २६ बलमा ३८ रन जोड्ने क्रममा कुशलले ५ चौका र २ छक्का प्रहार गरेका थिए ।
पोखरा पल्टनका ओपनर मोहम्मद आसिफ शेख ५२ रन बनाए उनी शाहव आलमको बलमा प्रदीप ऐरीबाट क्याच आउट हुँदै पेविलियन फर्के । आसिफ र रवि इन्दर सिंहले दोस्रो विकेटको लागि ९४ रनको साझेदारी गर्दै पोखरा पल्टनलाई बलियो स्थितीमा पु¥याएका थिए । पोखराका रवि ईन्दर सिंह ४४ रनमा आउट भए । यता भण्डारी संगै चौथो विकेटका लागि मैदान उत्रिएका पोखराका कप्तान शरद भेषवाकर भने ७ रनमा नटआउट रहे । विराटनगरका कप्तान सन्दिप लामिछानेले २ विकेट लिए भने शाहव आलमले एक विकेट झारे ।
यता विराटनगरले १७ रनमानै पहिलो विकेट गुमाएको थियो । खेलको दोश्रो ओभरको चौथो बलमा कृष्ण कार्कीले सुनिल धमलालाई ११ रनको व्यक्तिगत रनमा सुनिल धमलाको हात बाट क्याच गराए । विराटनगरले दोस्रो विकेटको रुपमा प्रदीप ऐरीलाई गुमाएको थियो । ६ बलमा १० रन बनाएका प्रदिपलाई ललित राजवंशीले आउट गरेका थिए । विराटनगरका लागि राजु रिजाल र पुष्प थापाले समान ३०–३० रन बनाए । त्यस्तै, कप्तान सन्दीप लामिछानेले अविजित १४ रन बनाए । त्यस्तै एन्टन एन्ड्रियुले १४, सुनिल धमलाले ११, प्रदीप ऐरीले १० र जितेन्द्र ठकुरीले १० रन बनाए । बलिङतर्फ पोखराका ललितनारायण राजवंशीले २ विकेट लिएका थिए ।
पीपीएल अन्तर्गत शनिबार २ खेल हुने आयोजकले जनाएकोछ । पहिलो खेलमा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज र सोमपाल कामीको बुटवल ब्लास्टर्सबीच खेल हुनेछ भने दोस्रो खेल ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं रोयल्स र दीपेन्द्रसिंह ऐरीको धनगढी ब्लुजबीच हुनेछ । शनिबारको पहिलो खेल बिहान ९ बजे सुरु हुने जनाइएको छ ।