पोखरा रंगशालाको क्रिकेट खेल मैदान र पोखरा प्रिमियर लिग

केशब पाठक
पोखरा, ५ कर्तिक ।
पोखरा रंगशाला ४ सय १७ रोपनी क्षेत्रफलमा फैलिएको पोखराको मुटुमा अवस्थित छ । राज्यको गलत दुरदृष्टीका कारण बिकासको पर्खाइमा रहेको पोखरा रंगशालाले मुर्तरुप पाउन सकेको छैन । पोखरा रंगशाला राज्यको बत्तीमुनीको अध्याँरो रहि रहे पनि यहाँका खेलप्रेमीहरुको अथक मेहनत र लगानीले केही नयाँ स्वरुप पाएको भने अवश्य देखिन्छ ।

यहि बिचमा पोखरा रंगशालाको फुटबल स्टेडियम देखि लिएर क्रिकेट स्टेडियमको निर्माणका लागि धेरै पटक पोखरेलीले आवाज नउठाएका होइनन तर सबै व्यर्थ जस्तै बनेको छ । तर पनि प्रयास जारी छ । राज्यको पोखरा प्रतीको गलत दृष्टीकोण र बुझाइका कारण पनि पोखरा रंगशलाको बिकासमा पछि परेको हो भन्ने कुरामा पछि हट्नु पर्दैन ।

यहि विचमा पोखरा रंगशालाको क्रिकेट खेल मैदानमा यस क्षेत्रकै विशेष प्रतियोगिता पोखरा प्रिमियर लिग (पिपिएल) हुँदैछ । तर अयोजना कठिन छ । प्राविधिक र अन्य कारणले पनि, आयोजक संस्थाका क्विइनस इभेन्ट मेनेजमेन्ट प्रालीका प्रवन्घ निर्देशक छुम्बी लामा यहि भन्छन । पोखरामा आयोजना गर्नु पोखरालाई खेलकुद शहरको रुपमा परिचित गराउनु पनि मुख्य उद्धेश्य हो आयोजकको । तर आयोजकको यो भनाई ५/७ वर्ष देखि पोखरामा उठ्दै आएको छ । तर राज्य पक्ष मौन छ । कारण के हो भन्न सकिन्न । न त पोखरा महानगरको यसमा चासोनै छ । प्रदेश सरकार पनि पोखरा रंगशालामा संघिय सरकारको हाली मुहाली छ भन्दै पछि हटेको छ । प्रदेश सरकारले खेल बिकासका लागि नयाँ ठाउँको खोजी गरिरहेको छ ।

पोखरा क्रिकेट मैदानको चर्चा त्यती खेर चुलियो जव पोखराका अग्रज फोटो पत्रकार सुदर्शन रंजितले (आइसिसी) एशियाको सर्वोत्कृष्ट फोटो अर्वाड पाए । उनले खिचेको त्यो तस्विर विश्वकै चर्चित फोटोमा प¥यो र विश्वका क्रिकेट प्रेमीहरुको ध्यान यस तर्फ मोडियो । पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन यस्ता खेल मैदान पनि रहेछन भन्ने कुरा भान त गरायो तर राज्य पक्षको यसमा ध्यान जान पटक्कै सकेन । रंजितले पुरुस्कार पाएको पनि डेढ दशक नाघिसक्यो । माछापुच्छ«ेको काखमुनीको रंगशालामा खाली खुट्टा क्रिकेटको फोटो नेपाल पर्यटन वोर्डले केही हद सम्म ‘क्याश’ गर्न प्रयत्न गरे पनि त्यो त्यही सिमित बन्यो ।

विश्व क्रिकेटको छाता संस्था अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले गरेको सर्वेक्षणमा समेत पोखरा क्रिकेट खेल मैदानले विश्वको पाँचौ स्थान ओगट्न सफल भयो । यसलाई खेलकुद पर्यटन संग जोडेर अन्तर्राष्ट्रिय क्रिकेट भेन्यूको रुपमा आयोजना गर्न सकिने आइसिसीले बतायो । क्रिकेट खेल बाट खेल पर्यटनको सम्भावनाका रुपमा पनि धेरै पटक छलफल भए । अहिले पनि उही चर्चा छ । मैदान उस्तै छ । बिकासको पर्खाइमा रहेको पोखरा रंगशालाको क्रिकेटका लागि संघिय सरकारले डिपिआर तयार गर्दैछ भन्ने कुरा पनि कागजमानै सिमित बनेको छ ।

पोखरामा यति बेला सर्वाधिक पुरुस्कारको राशी रहेको पिपिएलको चर्चा चलिरहे पनि यहाँको आयोजना कठिन रहेको स्वय आयोजक बताउँछ । पिच निर्माण, अस्थायी प्यारापिट, शौचालय लगाएत अन्य कुराले ठूलो खर्च व्यर्होनु परेको आयोजकले बताउँदै आएको छ । “यो आयोजना काठमाडौमा गरेको भए उत्तिकै धेरै माइलेज उत्तिकै धेरै प्रायोजक र अन्य सुविधा हुन्थ्यो” निर्देशक लामा भन्छन–“तर पोखरा भनेर नै आयौं किन भने पोखरा खेलकुदका लागि जती रमणिय त्यती अन्य ठाँउ छैन ।” तर यति रमणिय र ठ्याक्कै माछापुच्छ«ेलाई सम्मुख पारेर व्याटिङ गर्दा संसारका कुन क्रिकेट खेलाडीको मन नरमाउला र ? तर धेरै कठिन परिस्थितीमा भएको यो आयोजकको यो हिम्मतलाई भने मान्नु नै पर्छ ।

पोखरा रंगशालाको क्रिकेट खेल मैदानलाई यो स्वरुप प्रदान गर्न प्रा.डा. बिरेन्द्र सिंह गुरुङको योगदानलाई बिर्सन सकिन्न । चर्को घाम होस वा पोखराको झरी चौविसै घन्टा खटेर प्रा.डा. गुरुङले क्रिकेट मैदानलाई एक नयाँ उचाइमा पु¥याउनमा सहयोग गरे । उनले क्रिकेट मैदान मात्रै होइन पोखराको रंगशालको पर्खाल घेर्ने काममा समेत अगुवाई गर्दै नागरिक समाजलाई खेल बिकासको बाटोमा सँगै हिँडाए । अग्रज फोटो पत्रकार सुदर्शन रंजितले फोटो खिचेर यसलाई अन्तर्राष्ट्रिय रुपमा चर्चित बनाए । यसका लागि अशोक पालिखे र खेमचन्द्र गुरुङको योगदान पनि कम छैन । कास्की जिल्ला क्रिकेट संघले आफ्नो हैसियत अनुसार यहाँको पिच र आउटडोरलाई बनाउने काम ग¥यो । अब खाँचो निर्माणको हो भाषणको होइन, राज्यले यसमा ध्यान दिंदा पुग्छ ।

पोखराको क्रिकेट खेल मैदान जे बनेको छ तयो पोखरेलीको मायाँले बनेको हो र यहाँका तमाम क्रिकेट प्रेमीको सदभावले नै हो । पोखरामा पिपिएलको आयोजना हुनुले पनि तमाम खेलप्रेमीहरुको ध्यान खिचेको हुनुपर्छ । माछापुच्छ«ेको काखैमा खेलाडीले प्रहार गर्ने चौका र छक्काको आवाजले निदाएको राज्यको आँखा एक पटक पक्कै व्यूँत्याउने छ । पोखरा क्रिकेट मैदानले नयाँ स्वरुप पाउने छ र पिपिएलको आयोजना यसका लागि नै हो र यो एक दिन अन्तर्राष्ट्रिय क्रिकेट भेन्यूको रुपमा स्थापित हुनेछ भन्नेमा कसैको दुइ मत नहोला । अस्तु ।

सुदर्शन रंजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close