
पोखरा, ४ कार्तिक ।
कोरियाको गोचाङमा अक्टोबर १७–२१ मा सम्पन्न प्याराग्लाइडिङ प्रि–वल्र्ड कपमा नेपाललले उत्साहजनक पर्दशन गर्न सकेन । प्याराग्लाइडिङ क्रस कन्ट्रि तर्फको टिम इभेन्टमा पाँचौ दिन अर्थात फाइनल खेल सकिदा सम्म नेपालले सातौं स्थानमा आफूलाई उभ्याएको हो ।
नेपाली टिमका टिम क्यापटेन विशाल थापा, यूकेश गुरुङ, शुसिल गुरुङ, बिजय गौतम र कृष्ण बहादुर सुनुवारको टोलीले ३४ स्कोर बटुल्दै नेपाललाई सातौं स्थानमा उभ्याएका हुन ।
यस्तै सोही स्पार्धामा सहभागी भएको अर्को नेपाली टोलीले १७ स्कोरका साथ नवौं स्थान प्राप्त गरेको छ । यो टिममा सञ्जय थापा, अनिश भट्टराई निशिन थापा र आशिष थापा रहेका थिए ।
यता सोही विद्याको एकल तर्फ २३१४ अंकका साथ विशाल थापाले १२ औं स्थान हासिल गरेका छन भने अर्का खेलाडी शुसिल गुरुङ भने २०२९ अंकका साथ २० औं स्थानमा रहे । अन्य खेलाडीले पनि एकल तर्फ खासै राम्रो पर्दशन गर्न नसकेको नेपाली टिमका प्रशिक्षक योगश भट्टराइले बताए ।
प्रतियोगितामा एशियाली खेलमा जस्तै सोचे जस्तो हुन नसकेको प्रशिक्षक भट्टराइले बताएका छन । उनले भने–“यहाँको हावाको चाप र दुरीको हिसाबले पनि हाम्रा खेलाडीले सोचे जस्तो पर्दशन गर्न नसकेको हौं ।” “नयाँ परिवेशमा एकैचोटी आएर प्रतियोगितामा सहभागी हुनु चुनौतीपूर्णनै थियो तर यो नतिजा हाम्रा लागि सुखदनै मान्नु पर्छ”–उनले थपे ।