पाराग्लाईडिङ्ग बिश्व कप–२०१८, कार्तिकमा हुँदै, तयारी सुरु

पोखरा, २९ असोज ।
नेपाल पाराग्लाईडिङ्ग तथा ह्याण्डग्लाईडिङ्ग संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्गजाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक पाराग्लाईडिङ्ग बिश्व कप हुने भएको छ । हालै ईन्डोनेसियामा सम्पन्न १८ औं एशियान गेममा नेपालको लागि एक मात्र रजत पदक दिलाउन सफल खेल पाराग्लाईडिङ्गको पहिलो पटक “First Nepal Paragliding Accuracy World Cup 2018”  आयोजना गर्न लागिएको संघका महासचिव तथा प्रतियोगिता संयोजक शैलेन्द्र राउतले बताए ।

स्याङ्गजाको स्वरेक महापुर मैदान र डौंवफाँटमा हुने प्रतियोगिता कार्तिक १५ देखि १९ गते सम्म हुने छ । उक्त मैदान पाराग्लाईडिङ्गको ट्रेनिङ्ग सेन्टरको रुपमा समेत विकास गरि रहेको संघले जनाएको छ । यस अघि पनि नेपालले यसै स्थानमा एक्युरेसीको अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गरि सकेको छ ।

पुरुष र महिलाको टिम तथा ब्यक्तिगत एक्युरेसी गरि ४ स्वर्णका लागि हुने प्रतियोगितामा नेपाल सहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरविया, सिंगापुर, ईन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान र ईरानको प्रतिस्पर्धा रहने महासचिव राउतले बताए । नेपाल भ्रमण बर्ष २०२० मा हवाई साहसिक पर्यटकको संख्यामा बृद्धि गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक राउतले बताए ।

टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुष तर्फ ५ र महिला तर्फ ३ खेलाडीहरुको समूह हुने छ । प्रतियोगितामा प्रत्येक समूह तथा ब्यक्तिले ६ चरणको प्रतिस्पर्धा गर्नु पर्ने छ । ६ चरणको अंकलाई जोडेर पहिलो, दोश्रो तथा तेश्रोको घोषणा गरिने छ । एक्युरेसीमा टार्गेट क्षेत्र ५ मिटरको रेडियसमा हुने छ भने यसको एक्युरेसी स्वचालित मापन यन्त्र २२ से.मि.को हुने आयोजकले जनाएका छन् ।

नेपालले क्रस कन्ट्रिमा आफुलाई उत्कृष्ट स्थानमा राख्दै आएको छ । १८ औं एशियाली खेलकुदमा नेपालले पदक हात पार्नु अगाडी पनि २०१८ मा मित्र राष्ट्र चीनको हेनान प्रान्तको लिनझाउमा भएको चाईना लिनझाउ पाराग्लाईडिङ्ग प्रि – बिश्व कपमा नेपालका बिशाल थापाले नेपालका लागि कास्य पदक दिलाउन सफल भएका थिए । यसका साथै ईन्डोनेशियामा भएको प्रतियोगितामा टिम क्रस कन्ट्रिमा पहिलो स्थान र चिनमा भएको प्रतियोगितामा दोश्रो स्थान हात पार्न सफल भई सकेको संघले जनाएको छ ।

जिल्ला समन्वय समित, स्याङ्गजा, जिल्लाको स्थानिय सरकारको सहयोगमा हुने प्रतियोगिताका बिजयी टिम तर्पm प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १५ सय, १२ सय र ७ सय युरो प्राप्त गर्ने छन् भने ब्यक्तिगत तर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गर्ने छन् । प्रतियोगिताको बजेट करिब १ करोड ६० लाख रुपैयाको हुने संयोजक शैलेन्द्रले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close