
पोखरा, ११ असोज ।
जर्जियामा जारी ४३औं चेस ओलम्पियाड अन्तर्गत महिलातर्फ नेपालले पहिलो जित हात पारेको छ । बुधबार राती भएको तेस्रो चरणको खेलमा महिलातर्फ नेपालले गाम्बियालाई ४–० ले हरायो ।
नेपालकी शुसिला गुरुङले गाम्बियाकी फातोउ जाब्बीलाई, सिन्दीरा जोशीले हुला जालोउ, सुजना लोहनीले सेरी जालोउ र खुस्बु थापाले मारियमा क्रुबालीलाई हराइन् । चौथो चरणमा नेपाली महिला टोलीले बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ ।
यसैगरी पुरुषतर्फ नेपाल सिंगापुरसँग ३.५–०.५ ले पराजित भयो । पुरुषतर्फ नेपालका रिजेन्द्रराज भण्डारीले भने उत्कृष्ट खेल जारी राखेका छन् । रिजेन्द्रले तेस्रो चरणमा सिंगापुरका जुन वेलीसँग बराबरी खेले ।
नेपालका अन्य तीन पुरुष खेलाडी भने पराजित भए । हिमाल लामा इन्रिक प्यासेन्सीयासँग, विवेक थिङ क्वीनउन गोङसँग र रुपेश जैसवाल क्वीङ लीसँग पराजित भए । चौथो चरणमा नेपालले बोलिभियासँग प्रतिस्पर्धा गर्नेछ । यस ओलम्पियाडमा नेपालबाट १० खेलाडीले भाग लिएका छन् ।