सुनिललाल स्मृती भारोत्तोलन बुधबार देखि शुरु

काठमाडौ, १० असोज ।
भारोत्तोलन खेलबाट राष्ट्रलाई सर्वाधिक पदक दिलाउन सफल भारोत्तोलनका पूर्व प्रशिक्षक, नेपाल भारोत्तोलन संघका पूर्व उपाध्यक्ष ओलम्पियन सुनिललाल जोशीको स्मृतिमा आयोजना हुन लागेको “दोश्रो नेपाल्स स्ट्रङ्गेष्ट २०१८” सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगिता असोज १७ र १८ गते बुधबार र बिहिबार हुने भएको छ ।

आफ्ना आदरणिय गुरु सुनिललाल जोशीको सम्झनामा नेपाल भारोत्तोलन संघको तत्वावधान तथा काठमाण्डौ जिल्ला भारोत्तोलन संघको आयोजनामा पुरुष तथा महिला सिनियर तथा जुनियर प्रतियोगिता गर्न लागिएको काठमाण्डौ जिल्ला भारोत्तोलन संघका अध्यक्ष विजेन्द्र विक्रम शाहले पत्रकार सम्मेलनमा जानकारी गराए । यस प्रतियोगिताले खेलाडीहरुमा खेल प्रति अभिरुची बृद्धि गर्नुका साथै भारोत्तोलन खेलको विकास र विस्तारमा टेवा पुग्ने अध्यक्ष शाहको भनाइ छ ।

अग्नी ब्याङ्क्वेट, कुमारीपाटी, ललितपुरमा हुने प्रतियोगितामा पुरुष सिनियर तथा जुनियर तर्फ ५६, ६२, ६९, ७७, ८५, ९४, १०५ र १०५ केजी माथी ८ तौल समूह र महिला सिनियर र जुनियर तर्फ ४८, ५३, ५८, ६३, ६९, ७५ र ७५ केजी माथी ७ तौल समूहमा ३ विभागिय टोली नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा जिल्लाका गरि करिव १०० खेलाडीहरुले कुल ३० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

अन्तराष्ट्रिय भारोत्तोलन महासंघ र एशियान भारोत्तोलन महासंघको नियमानुसार खेलाईने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई पदक र प्रमाण पत्र प्रदान गरिने छ । यस्तै सिनियर महिला तथा पुरुष दुवै तर्फ सवैभन्दा बढी भार बहन गर्ने खेलाडीहरुलाई दोश्रो बलशाली महिला तथा पुरुष २०१८ (2nd Nepal’s Strongest Women/ Men 2018) उपाधीका साथै प्रमाण पत्र, ट्रफी र नगद प्रदान गरिने छ ।

यस्तै सिनियर तथा जुनियर महिला पुरुष दुवै तर्फ उत्कृष्ट भारोत्तोलकलाई उत्कृष्ट भारोत्तोलक उपाधीका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । यसैगरि सिनियर तर्फ राष्ट्रिय किर्तिमान कायम गर्ने पुरष र महिला खेलाडीहरुलाई नगद तथा प्रमाण पत्र तथा जुनियर तर्फ उदियमान महिला तथा पुरुष खेलाडीलाई ट्रफी तथा प्रमाण पत्र प्रादान गरिने अध्यक्ष शाहले पत्रकार सम्मेलनमा जानकारी गराए । जुनियर तर्फ २० बर्ष मुनिका खेलाडीहरुले सहभागिता जनाउने छन् ।

जिल्लाबाट प्रतियोगितामा सहभागी हुन आउने खेलाडीहरुलाई खाने तथा बस्ने ब्यबस्था आयोजकले मिलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close