प्रकाश दाहाल स्मृति वक्सिङ शुरु, कास्कीका सौगातको विजयी शुरुआत

पोखरा स्पोर्टस । कास्कीका सौगात कुमालले प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ६० केजीमा सोमबार विजयी शुरुआत गरेका छन् ।

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगितामा सौगातले केवाइबीसीका निर्मल सुवेदीलाई पराजित गरेका हुन् । त्यसै गरी अन्य प्रतियोगितामा नक्सालका विजय थापाले थानकोटका विपिन गोपालीलाई पराजित गरे । उक्त स्पर्धामा बीटीएफसीका मौसम राना मगरले एपीएफका विक्रम परियारलाई र नेपाल आर्मी ‘बी’का सुजन सुनारी मगरले रामेछापका सुरेशकुमार भण्डारीलाई हराए ।

सातदोबाटोस्थित कराते हलमा भएको पुरुष ४८ केजीमा उदयपुरका लक्ष्मण राईले भीपीबीसीका दर्शन गुरुङ तथा चितवनका सरोज गुरुङले सुर्खेतका मोहन गुरुङलाई पाखा लगाए । पुरुष ५१ केजीमा आर्मीका सुवास तामाङले बाजुराका चिरन्जिवी खड्काको चुनौती समाप्त पारे ।

महिला ४८ केजीमा बाँकेकी माया खत्रीले नेपाल प्रहरीकी रिता धरलालाई पन्छाइन् । महिला ५१ केजीमा आर्मी ‘बी’ की जयन्ती मैनालीले भीपीबीसीकी ओमन गुरुङलाई निराश पारिन् ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच उद्घाटन गरे । उक्त अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, तालिम तथा प्रशिक्षण विभाग, राखेपका निर्देशक अर्जुन विक, राष्ट्रिय टिम तयारी, राखेपका निर्देशक महेन्द्र राईलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close