पोखरा एभेन्जर्सद्वारा पोखरेलीहरुको समर्थन जुटाउन र्‍यालीको आयोजना, जोन्टी पनि सहभागि

पोखरा स्पोर्टस । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिगमा पोखरेलीहरुको टिमको समर्थन जुटाउन एक र्‍याली कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा नै पहिलो पटक आयोजना हुने लागेको नेपाल प्रिमियर लिगमा सहभागि पोखरा एभेन्जर्सले पोखराको विभिन्न भाग परिक्रमा गरी टिमको समर्थन जुटाएको हो । दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी एवं पोखरा एभेन्जर्स टिमका सल्लहाकार परामर्शदाता जोन्टी रोड्स सहित पोखरेली क्रिकेट प्रेमीहरु र्‍यालीमा सहभागि थिए ।

 

गण्डकी क्रिकेट, कास्की क्रिकेट, पोखरा बाइकर्स ग्रुप, रोटरी क्लब अफ लेखनाथ लगायत नौवटा संघसंस्थाले संयुक्त रुपमा पोखरामा आयोजना गर्ने ‘राइड विथ जोन्टी रोड्स’ कार्यक्रममा सहभागिता जनाएका थिए ।

राष्ट्रिय झण्डा र पोखरा एभेन्जर्स लोगो अंकित झण्डाका साथ पोखराको फिसटेल गेटबाट सुरू भएको र्‍याली बैदाम, हल्लनचोक, जरेबर, जिरो किमि, सभागृह चोक, न्यूरोड, विपी चोक, महेन्द्रपुल,, रानिपौवा, हस्पिटल चोक, अमरसिंह चोक, पृथ्वीचोक, पोखरा एयरपोर्ट, मुस्ताङचोक हुँदै पुनः फिसटेल गेटमा पुगेर सम्पन्न भएको थियो ।

यस अघि पोखरा स्पोर्टस संग कुरा गर्दै पोखरा एभेन्जर्सका चेयरमेन सुवोध त्रिपाठीले नेपाली क्रिकेटमा यूवाहरुको ध्यान खिच्न यस प्रकारका कार्यक्रमहरु महत्वपूर्ण रहेको जनाए । उनले भने–“आजको माहोलले नेपालको संगै समग्र गण्डकी प्रदेशको क्रिकेट विकासमा कोशेढुङ्गा सावित भएको छ । पोखरा एभेन्जर्सलाई मायाँ र समर्थनका लागि म सम्पूर्ण प्रदेशबाशीलाई आह्वान गर्दछु ।” उनले टिमका सल्लहाकार परामर्शदाता जोन्टीलाई पोखरा ल्याएर यहाँका क्रिकेट प्रेमीहरुको मनोवल उच्च बनाउने कार्य गरेको बताउँदै जोन्टीको नेपाल आगमन र टिममा सहभागिताले टिमको मनोबल समेत उच्च भएको बताए ।

यस्तै प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा एभेन्जर्सलाई समर्थन गर्न आग्रह गर्दै चर्चित खेलाडी जोन्टी रोड्सको उपस्थितीले समग्र क्रिकेट खेलको विकासमा माहोल बनाउन समेत भूमिका खेल्ने बताए ।

टिमका सहायक प्रशिक्षक रिजन प्रजुले पोखरा एभेन्जर्स पूर्ण जोशका साथ एनपिएलमा सहभागिता हुने जनाउँदै लिजेन्ड खेलाडी जोन्टीको सहभागिता र उनको परामर्शले टिमको मनोबल उच्च बनाउन सहयोग पुग्ने बताए ।

नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्किरहेको पोखरा एभन्जर्समा चार विदेशी खेलाडीहरू इंग्ल्यान्डका म्याट क्रिचली, वेस्ट इन्डिजका एन्डर्सन फिलिप, अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डि लिडे अनुबन्ध भइसकेका छन् ।

त्यस्तै टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत छनोट भइसकेका छन् । त्यस्तै आइपिएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ ।

एनपिएपल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close