
काठमाडौ, ३ असौज ।
नेपाल खेलकूद पत्रकार मञ्चको १४ औं बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाको उद्घाटन समारोहको अवसरमा नेपाली खेलकुद पत्रकारितामा विशिष्ट योगदान पु¥याउने सीताराम अग्रहरिलाई ‘एनएसजेएफ पत्रकारिता सम्मान २०७५’ बाट सम्मानित गरिएको छ ।
वरिष्ठ पत्रकार अग्रहरीलाई सम्मान–पत्रसहित १५ हजार रुपैयाँ प्रदान गरिएको छ । मञ्चका संस्थापक संयोजक रहनुभएका अग्रहरी ३५ बर्षयता पत्रकारितामा सक्रिय रहेका छन । उनले गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक र प्रधान सम्पादकको जिम्मेवारीसमेत सफलतापूर्वक निर्वाह गरेका थिए ।
बर्षेनी मञ्चले प्रदान गर्दै आएको एनएसजेएफ पत्रकारिता सम्मानबाट यसअघि श्याम चित्रकार, पुष्करलाल श्रेष्ठ, पी खरेल र गोपाल बस्नेत सम्मानित भइसकेका छन ।
मञ्चले यसै बर्षदेखि युवा खेल पत्रकारलाई अभिप्रेरित गर्ने उद्देष्यले ‘एनएसजेएफ युवा पत्रकारिता प्रोत्साहन पुरस्कार’ पनि सुरु गरेको छ ।
यसपटको एनएसजेएफ युवा पत्रकारिता प्रोत्साहन पुरस्कार २०७५ राजधानी दैनिकमा कार्यरत दिलबहादुर तामाङलाई प्रदान गरियो । २०७० सालयता खेलकुद पत्रकारिता कलम चलाइरहेका तामाङ एआईपीएस एसियाद्वारा उपलब्ध गराइएको ‘मिनी आइप्याड’ प्रदान गरियो ।
मञ्चका अध्यक्ष महेश आचार्यको अध्यक्षतामा भएको साधारणसभामा महासचिव प्रकाश तिमल्सिनाले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाले कोषाध्यक्ष प्रज्वल ओलीद्वारा प्रस्तुत २०७२/७३ र २०७४/७५ को आर्थिक प्रतिवेदन पनि सर्वसम्मत पारित समेत गरेको छ ।