
पोखरा, ३ भदौ ।
पोखरामा आयोजना हुने यस क्षेत्रकै वृहत क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पिपिएल)का लागि बुधबार बाट खेलाडी दर्ता शुरु गरिएको छ ।
पिपिएलको आयोजक क्विन्स इभेन्ट्स प्रा.लिले असोज ३ गतेदेखि असोज ९ गतेसम्म खेलाडी दर्ता प्रक्रिया सुरु गरिएको प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको हो ।
आयोजकका अनुसार पीपीएलमा खेल्न इच्छुक खेलाडीले पीपीएलको आधिकारिक वेब पोर्टल www.ppl-t20.com मा लगइन गरेर दर्ता गर्न सकिनेछ जनाइएको छ भने यसका लागि दर्ता शुल्क १ हजार तोकिएको छ ।
आयोजक संस्था क्विन्स इभेन्ट्स प्रा.लिका प्रवन्ध निर्देशक छुम्बी लामाका अनुसार पीपीएलमा सहभागी हुने खेलाडीलाई तीन श्रेणीमा छुट्याइएको छ । क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक्याप्ड गरी विभाजन गरिएको हो । नेपालको सिनियर राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका खेलाडीलाई क्याप्ड सिनियरमा, क्याप्ड एज लेभलमा नेपालको उमेर समूह यु–१५, यु-१७, यु–१९, यु–२१ र यु–२३ टिममा खेलेका खेलाडीलाई राखिएको छ । त्यस्तै, अनक्याप्ड श्रेणीमा नेपालको सिनियर टिम र उमेर समूहबाट नखेलेका खेलाडीलाई राखिएको छ ।
क्याप्ड सिनियर खेलाडीको न्युनतम पारिश्रमिक ५० हजारदेखि अधिकतम २ लाख ५० हजारसम्म रहेको छ । त्यस्तै, क्याप्ड एज लेभलमा पर्ने खेलाडीको न्युनतम पारिश्रमिक ५० हजारदेखि अधिकतम १ लाख ५० हजार तोकिएको छ । त्यस्तै, अनक्याप्डमा पर्ने खेलाडीको न्युनतम ३० हजारदेखि १ लाखसम्म राखिएको छ ।
पीपीएलका लागि एउटा टिमले न्युनतम १५ देखि अधिकतम १८ जना खेलाडी राख्न पाउने प्रावधान गरेको छ । प्रत्येक क्लबले अक्सनबाट १० खेलाडी आफ्नो टिममा आबद्ध गर्नु पर्ने छ ।
फायल तस्बिर : सुदर्शन रजित