हाफ म्याराथनमा गोपीचन्द्रले बाजी मारे

काठमाडौं, २ असोज ।
नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीले हाफ म्याराथनमा बाजी मारेका छन । संविधान दिवसका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित हाफ म्याराथनको निर्धारित २१ किलोमिटर दूरी गोपीले १ घण्टा १० मिनेट ५३ सेकेन्डमा पूरा गर्दै ५० हजार नगद पुरस्कार हात पारे ।

चौथो पटक हाफ म्याराथनमा सहभागिता जनाएका पार्कीले दोश्रो पटक स्वर्ण जितेका हुन् । यसअघि गोपीले २०७२ सालमा भएको कान्तिपुर हाफ म्याराथनमा पहिलो पटक स्वर्ण जितेका थिए । गोपी सहभागी बाँकी दुई हाफ म्याराथन पनि कान्तिपुर हाफ म्याराथन नै हो । २०७० को कान्तिपुर हाफ म्याराथनमा गोपी सहभागी पहिलो हाफ म्याराथन हो । त्यसमा उनले कांस्य पदक जितेका थिए । त्यस हाफ म्याराथनमा गोपीले निर्धारित दूरी १ घण्टा ७ मिनेट ५९ सेकेन्डमा पूरा गरेका थिए । जुन टाइमिङ गोपीको व्यक्तिगत उत्कृष्ट हो । २०७१ को कान्तिपुर हाफ म्याराथनमा गोपीले दोश्रो स्थान हासिल गरेका थिए ।

हाफ म्याराथनको राष्ट्रिय कीर्तिमान खिमु गिरीको नाममा छ । उनले जर्मनीमा सन् २००२ मा १ घण्टा ७ मिनेट १२ सेकेन्डमा दौड पूरा गर्दै कीर्तिमान स्थापित गरेका थिए ।

नेपाली सेनाका होमलाल श्रेष्ठ दोश्रो भए । उनले १ घण्टा ११ मिनेट ०५ सेकेन्डमा दौड सिध्याए । तेश्रो भएका सेनाकै हरिकुमार रिमालले १ घण्टा १२ मिनेट २५ सेकेन्ड समय खर्चे । हरि १२ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत ५ हजार मिटर दौडका कांस्य विजेता हुन् ।

अर्का सेनाका खेलाडी खगेन्द्र भाट चौथो भए । उनले निर्धारित दूरी पूरा गर्न १ घण्टा १२ मिनेट ४३ सेकेन्ड समय लगाए । किरणसिंह बोगटीले पाँचौं र खिमबहादुर खत्रीले छैटौं स्थानमा दौड टुंगाए । एपीएफका द्वयले क्रमशः १ घण्टा १२ मिनेट ५४ सेकेन्ड र १ घण्टा १४ मिनेट ०२ सेकेन्ड सयम निकाले ।

दोश्रो हुनेले ३० हजार, तेश्रोले २० हजार, चौथोले १० हजार तथा पाँचौं र छैटौंले समान ५–५ हजार नगद पुरस्कार जिते ।

विजेतालाई  युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा र राखेपका सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि म्याराथनको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले उद्घाटन गरेका थिए । त्रिपुरेश्वरस्थित राखेप हाताबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः राखेपमै आएर टुंगिएको म्याराथनमा ९५ पुरुष खेलाडी सहभागी थिए ।

संविधान दिवसकै अवसरमा राखेपले आयोजना गरेको मैत्रीपूर्ण टी– २० क्रिकेटमा नेपाल रातोले जित हात पा¥यो । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा नेपाल रातोले नेपाल नीलोलाई ६ विकेटले पराजित ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close