काठमाडौ, १ असौज ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले युवा तथा खेलकुद मन्त्रालयले तयार पारेको खेलकुद ऐन– २०७५ को मस्यौदामा समावेश गर्नु विभिन्न बुँदा लिखित रुपमा बुझाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत कानुन शाखामा सुझावसहितको बुँदा लिखित रुपमा बुझाएको खेलाडी संघका महासचिव शिवसुन्दर गोथेले जनाएका छन् ।
सम्पूर्ण राष्ट्रिय खेल संघहरुमा सम्बन्धित खेलमा योगदान दिएका कम्तिमा एक महिलासहित दुई खेलाडीलाई अनिवार्य समावेश गर्नु पर्ने, प्रतियोगिताको वर्गिकरण गरी पदक विजेता खेलाडीलाई नियमित रुपमा के–कस्तो सेवा सुविधा उपलब्ध गराउने बारे ऐनमा प्रस्ट खुलाउनु पर्ने, राखेपअन्तर्गत सञ्चालनमा रहेको राष्ट्रिय खेलाडी कल्याणकारी कोष बारे खेलकुद ऐनमा व्यवस्था हुनु पर्ने, नयाँ पुस्ताका खेलाडीलाई खेल क्षेत्रमा आकर्षण बढाउन र अभिभावकले पनि खेल क्षेत्रमा भविष्य सुनिश्चित भएको बुझ्ने किसिमको व्यवस्था गर्नु पर्ने तथा खेलाडीको अनुभवलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने विषय ऐनमा समावेश गर्नु पर्ने सुझाव खेलाडी संघको रहेको छ ।
खेलाडी संघले अब बन्ने ऐनमा राखेपको बोर्डमा ओलम्पियन तथा ख्याती प्राप्त अन्तर्राष्ट्रिय खेलाडी मध्येबाट कम्तिमा एक महिलासहित तीन खेलाडी राख्नु पर्ने बुँदाको स्वागत गरेको छ ।