पोखरामा हुने नवौँ राष्ट्रिय खेलकूद अर्को वर्ष : सदस्य सचिव सिलवाल

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आगामी फागुन २० देखी गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालनको अवस्था नरहेको बताउनुभएको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले बिहिबार पोखरा रङ्गशालामा आयोजना गरेको खुल्ला रक्तदान तथा खेलाडी सम्मान कार्यक्रममा उहाँले खेलकूदले माहोल सिर्जना गर्नुपर्नेमा यस वर्ष कोभिड–१९ का कारण अप्ठ्यारो अवस्था रहेकाले राष्ट्रिय खेलकूद सञ्चालन गर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,“नवौँ राष्ट्रिय खेलकूद फागुन २० देखी गण्डकीमा गर्दछौँ भनेर घोषणा गरेका थियौँ तर अहिले तोकिएको मितिमा सञ्चालन गर्ने अवस्था छैन, अब विसं २०७८ भित्र प्रतियोगिता सञ्चालन गर्छौं ।”

सदस्य सचिव सिलवालले स्थानीय, जिल्ला र प्रदेशमा प्रतियोगिता आयोजना गरेर राष्ट्रिय प्रतियोगिता सञ्चालन हुने र राम्रो खेलाडी उत्पादन गर्ने गरी राष्ट्रिय खेलकूदको तयारी गरिने समेत स्पष्ट पार्नुभयो । कोरोनाका कारण लामो समय देशभित्र खेलकूद प्रतियोगिता रोकिएकामा सरकारबाट स्वास्थ्य मापण्डको पालना गर्ने गरी अभ्यास र प्रशिक्षण शुरु भएकामा अब प्रतियोगिता समेत सुरक्षा मापदण्ड पालना गरेर शुरु गर्ने अवस्था रहेको जानकारी दिनुभयो । सङ्घ सरकारसँगै प्रदेश र स्थानीय तहहरुले पनि खेलकूद उत्पादनमूलक क्षेत्र हो भन्ने बुझेर खेल पूर्वाधार तथा खेलाडी उत्पादनमा लगानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्री अध्यक्ष विनोद श्रेष्ठले एकेडेमीले खेल क्षेत्रको पूर्वाधार निर्माण र खेल क्षेत्रमा लाग्नेहरुको हौसल अभिवृद्धिमा सहयोग गर्दै आएको बताउनुभयो । गण्डकी प्रदेश विधायन समितिका सभापति एवं एकेडेमीका उपाध्यक्ष मोहन रेग्मीले प्रदेश सरकारले खेलकूद विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो । कार्यक्रममा मदन भण्डारी फाउन्डेशन कास्कीका अध्यक्ष माधव वास्तोलाले यस प्रकारको कार्यक्रमले खेलाडीको हौसला बढाउन सहयोग पुग्ने बताउनुभयो ।

एकेडेमीका गण्डकी संयोजक एवं राखेप सदस्य राजेशकुमार गुरुङले खेल सङ्घ, पदाधिकारी, सञ्चारकर्मी लगायत सबै पोखरेलीको सहयोगले साग भव्य रुपमा सम्पन्न भएको बताउँदै खेलाडी तथा सहयोगीहरुको योगदानको कदर गर्न सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

स्वर्ण विजेता खेलाडी सम्मान तथा आर्थिक सहयोग प्रदान
मदन भण्डारी स्पोर्टस एकेडेमीले नेपालमा गत वर्ष सम्पन्न १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडी सहित साग सफल पार्न सहयोग गर्ने व्यक्ति तथा सङ्घ संस्थाहरुलाई नगद सहित सम्मान गरेको छ । बक्सिङतर्फ सागमा स्वर्ण पदक विजेता नेपाल पुलिसका भुपेन्द्र थापा मगर तथा नेपाल आर्मीका मीनु गुरुङ र सनिल शाहीलाई जनही रु ५१ हजार ५०० सहित राखेप सदस्य सिलवालले सम्मान गर्नुभएको थियो ।

एकेडेमीले सागमा पोखरामा सञ्चालन भएका आठ वटा खेललाई सफल बनाउन भूमिका खेल्ने खेल सङ्घ, सागका १३ विषयगत समिति, खेलकूदका कर्मचारीलाई प्रशंसापत्र तथा नगदले सम्मान गरेको थियो ।

यसैगरी पत्रकार महासङ्घ गण्डकी प्रदेश,कास्की शाखा र खेलकूद पत्रकार मञ्चलाई पनि रु २१ हजारका दरले नगद तथा सम्मानपत्र सहित सम्मान प्रदान गरिएको थियो । वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीपमा पदक जित्ने खेलाडी तथा खेल पत्रकारहरुलाई समेत नगद सहित सम्मानित गरियो । कार्यक्रममा अग्रज पत्रकार नारायण कार्की, अग्रज फोटो पत्रकार शुदर्सन रञ्जित, पत्रकारहरु केशव पाठक, एकराज गिरी, सन्देश श्रेष्ठ, दिननाथ बराल, पर्शुराम शर्मा, एमवी आस्था, कृष्ण दवाडी, उमेश पुन, दिपक परियार, श्याम कुवरलाई सम्मान गरिएको थियो । अग्रज फोटो पत्रकार रञ्जितले आफूले पाएको नगद पुरस्कार ५ हजार भने फोटो पत्रकार संघका कास्कीलाई दिने घोषणा गर्नुभएको छ ।

यसैगरी प्याराग्लाइडिङ दुर्घटनामा निधन भएका पाइलट तथा कराँते खेलाडी राजु गैरे(नेपाली)का परिवारलाई रु १ लाख एक हजार १११, टेनिस खेलाडी स्व सुरज नगरकोटीको परिवारलाई रु ५० हजार ५५० आर्थिक सहयोग प्रदान गरिएको थियो ।

पूर्व भलिवल खेलाडी तथा प्रशिक्षक समेत रहेका जीवन चौधरीलाई रु ७० हजार ७७०, राष्ट्रिय महिला भलिवल खेलाडी लक्ष्मी कुमाललाई रु २१ हजार १११ र क्रिकेट खेलाडी सन्तोष न्यौपानेलाई रु ३० हजार ३३० आर्थिक सहयोग प्रदान गरिएको एकेडेमीका सचिव कृष्ण तिमिल्सिनाले जानकारी दिनुभयो ।

खुल्ला रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close