
पोखरा, ३० भदौ ।
डोरी तान प्रतियोगिताको उपाधि पोखरा महेन्द्रपुलको सेन्टर पोइन्ट रोधी घरले जितेको छ ।
पहिलोपटक कास्कीमा भएको आधिकारिक प्रतियोगितामा बेष्ट अफ फाइभका आधारमा खेलाइएको डोरी तान प्रतियोगितामा सेन्टर पोइन्टले फाइनलमा पोखरा–१६, बाटुलेचौरको अल ईन वानका कपिल थापाको टिमलाई सोझो तीन सेटमा हराउँदै सेन्टर पोइन्टका सूर्य थापाको टिमले उपाधि जितेको हो ।
उपाधि सँगै सेन्टर पोइन्टले ६ हजार नगद र उपविजेता अल ईन वानले ४ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो । विजेता तथा उपविजेता टिमलाई डोरीतान संघका अध्यक्ष शंकर गौतम, सचिव निर्मल खत्री, प्रतियोगिता संयोजक तुलबहादुर बस्नेत, ऐतिहासिक बाटुलेचौर तीज मेलाका कार्यक्रम संयोजक गोमा अधिकारी गौतम लगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखरा–१६, बाटुलेचौरस्थित स्थानीय हिमालयक्लबले आयोजना गरेको ऐतिहासिक तीज मेलाको अवसरमा कास्की जिल्ला डोरी तान संघले प्रतियोगिताको आयोजना गरेको हो ।
कास्की जिल्ला खेलकुद विकास समिति अन्तरगत हालै मात्र गठन भएको डोरी तान संघले पहिलो पटक प्रतियोगिता आयोजना गरेको हो ।
के हो डोरीतान ?
नेपालमा डोरीतान खेल नौलो होइन । चलन चल्तीमा ‘रस्साकस्सी’ तथा विश्वमै ‘टगअफवार’को नामले परिचित डोरी तान मनोरञ्जनका लागि खेल्ने गरिन्छ । पहिले पहिले नेपाली गाउँघरको चाडपर्व, मेला, महोत्सवमा मनोरञ्जनकै लागिभएपनि घैंटो फुटाउने र डोरीतान खेलहरु आयोजना गरिदैं आएको छ । आजपनि नेपाली गाउँघरहरुमा यस्ता खेलहरुको आयोजना गरिन्छ ।
हाल विश्वका ५३ वटा देशमा डोरीतान खेललाई राष्ट्रियस्तरकै प्रतियोगितात्मक आधारमा खेलाइने गरेको पाइन्छ । विश्वमै टग अफवार इन्टरनेशनल फेडेरेसन, (टीडब्ल्यूआइएफ) र एसियन टगअफ वार फेडेरेसन (एटीडब्ल्युएफ) समेत गठन भई अन्तराष्ट्रिय स्तरमा डोरीतान प्रतियोगिताहरु हुँदै आएका छन् ।
नेपालको सन्दर्भमा २००७ मा टग अफ वार नेपाल (टीडब्ल्युएन) अर्थात राष्ट्रिय डोरी तान संघको गठन भएर हाल उक्त संघको २२ जिल्लामा जिल्लास्तरिय डोरीतान संघ गठन भइसकेको छ । कास्की जिल्ला खेलकुद विकास समितिको कान्छो संघका रुपमा गत असार १४ गते कास्की जिल्ला डोरीतान संघको गठन भएको संघका अध्यक्ष शंकर गौतमले बताए ।
पूर्व जिल्ला शिक्षा अधिकारी समेत रहेका गौतमले संघको गठन पछि बाटुलेचौर तीज महोत्सवमा पहिलो पटक डोरी तान प्रतियोगिता गरेको बताउँदै आगामी दिनमा यस खेललाई व्यवस्थित गरिने बताए । कास्की जिल्लामा रेफ्री तालिम, प्रशिक्षक र व्यवस्थापक सहित उत्पादन गर्ने उद्देश्यले छिट्टै अन्तराष्ट्रियस्तरको डोरीतान सेमीनारका लागि तयारीमा जुटेको अध्यक्ष गौतमले जनाए ।