
पोखरा, २८ भदौ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीले यहि भदौ ३० गते पोखरामा भब्य कार्यक्रमका बिच ग्रास रुट लेभलको कार्यक्रम सुरु गर्ने भएको छ ।
फुटबल खेलको जगलाई विद्यालयस्तर बाट नै सुधार गर्न र भविष्यका लागि खेलाडी उत्पादन गर्न फुटबल संघहरुको विश्वको छाता संस्था फिफा र केन्द्रिय एन्फाको कार्यक्रम बमोजिम कास्की एन्फाले फुटबलको ग्रास रुट लेभलको कार्यक्रम सुरु गर्न लागेको हो ।
भदौ ३० गते बिहान १० बजे पोखरा रंगशालामा यो कार्यक्रमको भब्य शुभारम्भ हुने कास्की एन्फाका अध्यक्ष मिलन गुरुङले बताए । “हामीले कास्कीका सबै सामुदायिक विद्यालय, निजी विद्यालय र क्लब संग सम्बन्धित रहेका बाल–बालिकालाई पोखरा रंगशालामा ल्याउन आह्वान गरेका छौ” अध्यक्ष गुरुङले भने–“यो सुरुवात मात्रै हो यो कार्यक्रमले कास्कीका हरेक विद्यालयमा पढ्ने बालबालिकाको फुटबल प्रती आर्कषित गर्न पनि उत्तिकै सहयोगी हुनेछ ।”
कार्यक्रम अनुसार पोखरा रंगशालामा सहभागी विद्यालयका बालबालिकाले फ्ुटबल ड्रिल प्रस्तुत गर्नेछन भने मैदानलाई ६ भागमा बिभाजन गरेर त्यहाँ मिनी मैदान बनाइनेछ जहाँ सबैले फुटबल खेलको पर्दशन समेत गर्ने भएको एन्फा कास्कीका महासचिब रमेश कार्कीले बताए ।
कार्यक्रममा पोखरा महानगर र कास्कीका सबै गाँउपालिकाका जनप्रतिनधीहरु, विद्यालयका प्रधानध्यापक, शिक्षक र खेलप्रेमी लागएतको ब्यापक उपस्थिती रहने महासचिब कार्कीले बताए ।
भदौ ३० गतेको कार्यक्रमका लागि कास्की एन्फाले यति बेला पोखरा रंगशालाको फुटबल मैदानको सरसफाइ लगाएतका कामहरु अगाडी बढाएको छ ।