पौडीमा सैयद हमजा शाहलाई स्वर्ण

काठमाडौ, २४ भदौ ।
युडब्लुसी ईष्टका सैयद हमजा शाह पुरुष तर्फ आठौं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा २०७५ को २०० मिटर फ्रिस्टायलमा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । सैयदले उक्त दूरी २ : १०.५० मा पुरा गरे ।

नेपाल पौडी संघको आयोजनामा भएको प्रतियोगिताको उक्त बिधामा पुरुष तर्फ युलेन्सका अनुभव सुब्बा दोश्रो र लिङ्कनका नासिर हुसेन तेश्रो भए । महिला तर्फ खेलाडीको संख्या नपुगेका कारण एपिएफकी डुवाना लामाको टाईम ट्राईल मात्र लिईएको थियो । उनले उक्त दूरी २ : २३.७३ मा पुरा गरिन् ।

मित्र राष्ट्र चाईनाको ह्वाङ्गजाउमा आयोजना हुने १४ औं फिना बिश्व च्याम्पियनसिपका लागि छनौट प्रतियोगिता समेत रहेको प्रतियोगितामा १०० मिटर ब्याकमा लिङ्कन स्कुलका आदित्य सूर्याले १ ः १२.१९ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारे । लिंकनकै नासिर हुसेनले रजत र सेनाका दिलिप थापा मगरले कास्य पाए । महिला तर्फ एपिएफकी डुवाना लामाले १ : १९.९४ समयका साथ स्वर्ण हात पारिन् । लिंकनकी आयुष्मा तुलाधरले रजत र निसर्गकी समिरा शोभा थापाले कास्य पाईन् ।

यसैगरि १०० मिटर फ्लाई तर्फ युलेन्सका अनुभव सुब्बाले १ :०२.०३ सेकेन्डका साथ स्वर्ण हात पार्दा युडब्लुसी ईष्टका सैयद शाहले रजत पाए । लिंकनका नासिर हुसैनले कास्य पाए । महिला तर्फ एपिएफकी डुवाना लामाले १ : १५.१३ समयका दूरी पुरा गरिन् । यस्तै निसर्गकी समिरा शोभा थापाले १ : २८.७८ सेकेन्डमा दूरी पुरा गरिन् ।

२५ मिटरको ईमाडोल पौडी पोखरीमा भएको प्रतियोगिताको ५० मिटर ब्रेष्ट स्ट्रोक तर्फ एपिएफका शुभम श्रेष्ठले उक्त दूरी ३१.३७ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारे । युडब्लुसी ईष्टका सैयद हमजाले रजत र डिएभी स्कुलका बैदज्ञराज जोशीले कास्य पाए । महिला तर्फ एपिएफकी डुवानाले ३७.६३ सेकेन्डका साथ स्वर्ण, प्रिमियरकी उपास्ती महर्जनले रजत र लिंकनकी टिशा शाक्यले कास्य पाईन् ।

यसै प्रतियोगिताबाट चीनको ह्वाङ्गजाउमा हुने १४ औं फिना वल्र्ड च्याम्पियनसिपका लागि खेलाडी समेत छनोट गरिने छ । डिसेम्बर ११ देखि १६ सम्म सर्टकोर्ष (२५ मिटरको पुलमा) हुने उक्त प्रतियोगिताका लागि समान २–२ पुरुष/महिला गरी ४ खेलाडी छनोट गरिने नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जनाएका छन् ।

प्रतियोगिताको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन गरेका थिए । प्रतियोगितामा १५५ खेलाडीहरुले खुला तर्फ १८ तथा उमेर समूह तर्फ ३३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close