
अन्नपूर्ण, २३ भदौं ।
ढिकुरपोखरीमा तीज मेलाका सुरु भएको छ । मेलाको प्रमुख आकर्षणका रुपमा रहेको खुल्ला नकआउट फुटवल प्रतियोगिता शनिवारदेखि सुरु भएको हो ।
ढिकुरपोखरी युवा संजालको आयोजनामा भएको उक्त प्रतियोगितामा आयोजक ‘बि’ टिमले फेदी फुटबल क्लवलाई दोस्रो हाफमा १–० गोल अन्तरले पराजित गरेको छ । संजालको जितमा संदेश परियारले गोल गरेका थिए । त्यस्तै विष्णुपादुका क्लव हेमजा र इन्द्रेणी फुटबल क्लव बगर बीच भएको दोस्रो खेलमा इन्द्रेणी बिजयी भएको छ । इन्द्रेणीको जितका लागि शिशिर लेखीले गोल गरेका थिए ।
मेलाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष युवराज कुँवरले ढिकुरपोखरी खेलमैदानको स्तर उन्नतीमा जोड दिर्दै स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण हुने औँल्याए । उनले गाउँपालिकाले निर्णय गरि मेलालाई सहयोग गर्ने प्रतिबद्घता पनि जनाए ।
गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले संस्कार, संस्कृति जोगाउने दायित्व आम नागरिकको भएको भन्दै त्यसमा चनाखो रहन आग्रह गरिन् । युवा संजालले अन्नपूर्ण गाउँपालिकाको खेल क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्दै आएको उनको भनाई थियो ।
कार्यक्रमका बीच अन्नपूर्ण १ स्थायी निवासी प्रधानमन्त्री कार्यालयमा प्रवक्ता विनोद कुँवरलाई सम्मान गरिएको थियो । सम्मान पछि बोल्दै प्रबक्ता कुँवरले जन्म ठाँउलाई सबैले माया गर्नुपर्ने बताउँदै नेपाली युवालाई कृषि क्षेत्रमा लगाउनुपर्ने आवश्यकता औँल्याएका थिए ।
अन्नपूर्ण १ का अध्यक्ष भरतजंग कुँवरले ढिकुरपोखरीमा हरितालिका मेलाको लामो इतिहास रहेको भन्दै मेलालाई निरन्तरता दिनुपर्ने बताए । अन्नपूर्ण २ का अध्यक्ष चुडामणि अधिकारीले नेपाली संस्कृतीको महत्व बिस्तारै हराउँदै गएकोमा दुखेसो पोखे ।
कार्यक्रमका बीच दलित एकता युवा क्लवले नृत्य प्रस्तुत गरेको थियो । मेला संयोजक विकास गुरुङको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा वडा नं. २ का अध्यक्ष चुडामणि अधिकारीले स्वागत तथा संचालन संजालका महासचिव दिल जिसीले गरेका थिए ।