
पोखरा २३, भदौं ।
काठमाण्डौंको जाउलाखेल युथ क्लव लेखनाथको भण्डारढिकमा जारी रिद्धिसिद्धि सिमेन्ट २४ औं आर्दश कप फुटवल प्रतियोगिता २०७५ को सेमिफाईनलमा प्रबेश गरेको छ । शनिबार भएको अन्तिम क्वाटरफाईनल खेलमा जाउलाखेलले एन्फा बाग्लुङलाई २–० को गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
जाउलाखेलको जितमा म्यान अफ दी म्याच घोषित निर बहादुर आले मगर र सुमन डंगोलले एक एक गोलको योगदान दिए । मगरले खेलको १४ औं मिनेट र डंगोलले ८० औैं मिनेटमा गोल गरेका हुन । बागलुङका स्थानिय खेलाडीको टोलीले लिगको तयारीमा रहेको जाउलाखेल बिरुद्ध मैदानमा बाजी मार्न कठिन भयो । जाउलाखेलले दोश्रो सेमिफाईनल खेलमा एन्फा स्याङजा संग प्रतिष्प्रर्धा गर्नेछ ।
बागलुङका प्रशिक्षक भिम वोहराले आफुहरुसंग स्थानीय खेलाडी भएकोले अनुभवी खेलाडी बिरुद्ध आफुहरुले सन्तोषजनक खेल प्रर्दशन गरेको जनाए । जाउलाखेलका प्रशिक्षक नरेश थापाले आफुहरुका खेलाडीहरुले पाएका धेरै अवसर खेर जाँदा गोल अन्तर फराकिलो पार्ने अवसर गुमेको बताए । लिगमा सहभागि हुने करिब ५० प्रतिशत जसो खेलाडीहरु आफ्नो टिममा भएकोले जित सहज भएको उनले दाबी गरे ।
आईतबा देखि सेमिफाईनलका खेलहरु सुरु हुने भएको आदर्श क्लबले जनाएको छ । पहिलो सेमीफाइनलमा आयोजक आर्दश क्लवले विभागिय टोली सशस्त्र प्रहरी वलको एपिएफको सामना गर्नेछ ।