
पोखरा, २० भदौ ।
ऋद्धिसिद्धी सिमेन्ट २४ औं आदर्श कपको उद्घाटन खेलमा आयोजक आदर्श क्लव बिजयी भएको छ । आदर्श क्लबले एन्फा तनहुँ संग ४–१ गोलले बिजयी भएको हो । उद्घाटन खेलमा आयोजक आदर्श क्लबका लागि बेल प्रसाद गुरुङले ह्याट्रिक पुरा गरेका छन ।
बेल प्रसादले आफ्नो ह्याट्रिक पुरा गर्न खेलको पहिलो हाफको २५ औं मिनेटमा टिमका लागि गोलको खाता खोलेका थिए । उनले दोश्रो हाफको ७२ र ७४ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । उनी खेलका म्यान अफ दि म्याच घोषित भए ।
एन्फा तनहुँले खेलको ११ औं मिनेटमा दिपेश आले मगरले गोल गर्दै आयोजकलाई दबाबमा राख्न प्रयास गरेपनि त्यो धेरै समय टिकेन । खेलको २५ औं मिनेटमानै आयोजकले बराबरीका लागि गोल फर्काएको थियो । त्यसपछिको खेलमा भने एन्फा तनहुँ खेलमा फर्कन सकेन र पराजय संगै घर फर्कन बाध्य भएको छ । यता आयोजकका लागि चौथो गोल अजित भण्डारीले ८१ औं मिनेटमा गरेका थिए ।
यस अघि प्रतियोगिताको उदुघाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदको विकासले मात्र देश समृद्धि तर्फ जानेका जोड दिएका छन् ।
मन्त्री विश्वकर्माले समृद्धि नेपालको लक्ष्य प्राप्तीका लागि खेलकुदको विकासलाई पनि सगसगै लैजानु पर्ने धारणा राख्दै जुन देशमा खेलकुदको विकास भएकोछ त्यो देश आर्थीक रुपमा पनि सक्षम रहेको उदाहरण समेत प्रस्तुत गरे ।
राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद र सवैका लागि खेलकुद भएको तर्क प्रस्तुत गर्दै मन्त्री विश्वकर्माले मानिस स्वथ्य रहनका लागि सबै उमेर समुहलाई खेलकुद अनिबार्य भएकाले सरकारले खेलकुदमा आमुल परिबर्तन हुने खालका योजनहरु लिएर अगाडी वढेको बताउँदै भने–“यसमा विशेष गरि युवा समुहको साथ र सहयोग चहिन्छ ।”
खेलको माध्यबाट देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पनि सजिलो हुने भएकाले पोखरालाई खेलकुदको हवका रुपमा विकास गराउन सकिने सम्भावनाहरु रहेको र यस क्षेत्रको भौगोलिक र वातावरणीय दृष्टिकोणले पनि खेल पर्यटनको माध्यमबाट विकास गराउन सकिने मन्त्री विश्वकर्माको भनाई थियो ।
कार्यक्रममा प्रदेश सासंद दिपक कोईरालाले पोखरालाई खेलकुदको शहर बनाउन सकिने सम्भावनाहरु रहेकाले लेखनाथ रङ्गशालाको स्तर उन्नती गरी क्षेत्रिय स्तरको रङ्गशाला बनाउने सोचमा आफुहरु रहेको बताए । साथै उनले खेलकुदमा गरेको लगानी खेर नजाने भएकाले आर्थीक रुपमा पनि देशलाई समृद्धिको बाटो तर्फ लैजानमा सहयोग पुग्ने बताए ।
क्लबका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा ऋद्धिसिद्धी सिमेन्ट गण्डकी धौलागिरी प्रमुख पवनराज बराल,अम्बे सिमेन्टका मार्केटिङ प्रमुख जिवन न्यौपाने,एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ,क्लवका सस्थापक अध्यक्ष चेतवहादुर गुरुङ,नेकपा प्रतिनीधि दिलिप न्यौपाने र नेपाली काग्रेसका रामवावु भण्डारी लगाएतले खेलकुदको विकासका लागि सरकारको स्पष्ट निती आउनुपर्ने र लेखनाथ रङशालको विकासका लागि सवैको साथ र सहयोग चाहिने सुझाव राखेका थिए ।
क्लबका सचिव पदम गुरुङले संचालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष किसान गुरुङले गरेका थिए ।
तिजको अवसरमा राखिएको राष्ट्रिय स्तरको प्रतियोगितामाा आठ टिमका विच प्रतिष्पर्धा हुँदै छ । २३ औं संस्करण बाट रोकीएको प्रतियोगिता सात वर्ष पछि गर्न लागेकाले खेल प्रति यस क्षेत्रका बासिन्दा तथा खेलपे्रमीहरुले अभिरुचिका साथ खेललाई लिएको क्लवका लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
फुटबल खेलको विकासका लागि क्लबले खेल मैदानको स्तर उन्नती गर्दै ‘ए’ डिभिजन लगाएत उत्कृष्ट क्लवका विच प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा आयोजक सहित आठ टिमको सहभागीता रहेकोछ । जसमा पोखरा ११,एन्फा बाग्लुङ,एन्फा तनहुँ,एन्फा स्याङजा,सशस्त्र एपिएफ क्लव काठमाडौं, विग्रेड ब्वोईज क्लव काठमाडौं र जाउलाखेल युथ क्लव काठमाडौं रहेका छन् ।
प्रतियोगिताका विजयी समुहले तीन लाख शिल्ड,मेडल र प्रमाणपत्र, उपविजेताले रु दुई लाख सिल्ड मेडेल र प्रमाण पत्र लगाएत उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता,उत्कृष्ट गोलरक्षक लगाएतका विधामा पुरस्कृत गरिने भएको छ । प्रतियोगिता भदौं २७ गते सम्म चल्ने छ ।