
पोखरा, २० भदौ ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार विष्टले आसन्न १३ औं दक्षिण एसियाली खेलकुदमा प्याराग्लाइडिङ सहित सात खेल हुने बताएका छन ।
खेलकूद पत्रकार मञ्च कास्कीद्वारा बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सागलाई भव्यताका साथ सम्पन्न गर्न सरकारले पूर्वाधार निर्माण लगायतमा आवश्यक रकम विनियोजन गर्नुपर्ने जोड दिए । उनले आसन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता ९साग०मा पोखरामा छ वटा खेल सञ्चालन गर्ने भनिए पनि प्याराग्लाईडिङ सहित सातवटा खेल सञ्चालनको सम्भावना बढेको बताए ।
राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशवकुमार विष्टले नेपालमा हुने १३ औं साग खेलकूद प्रतियोगिता भौतिक संरचनाका कारण प्रभावित नहुने बताए । “हामीले यसका लागि सरकार संग यथासिघ्र प्रक्रिया थाल्न भनेका छौं” उनले भने–“करिव ४ देखि ५ अर्व खर्च लाग्ने अनुमान गरेका छौं तर त्यसको टुँगो भने लागि सकेको छैन ।” पूर्वाधार र राज्यको राम्रो सहयोग नभएका अवस्थामा समेत प्याराग्लाईडिङका खेलाडीले एसियाली खेलकूद प्रतियोगतामा पदक हासिल गर्न सफल भएको उनले बताए ।
आगामी २०१८ नोभेम्वर १ देखि ५ मा पोखरामा हुने अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ च्याम्पियन प्रतियोगिता अन्तर्गत सराङकोटमा आवश्यक पूर्वाधार तयार गर्न ३० लाख रुपैया विनियोजन समेत गरिएको सदस्य सचिव विष्टले जानकारी दिए । सम्पन्न एसियाली खेलकूद प्रतियोगितामा नेपाल दक्षिण एसियामा दोश्रो र एसियामा ३३ औं स्थानमा रहेको बताउँदै उनले देशको गरिमासंग प्रत्यक्ष जोडिएको खेलकूदलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।
सागको तयारीस्वरुप हालसम्म पूर्वाधार निर्माण लगायतमा दुई अर्ब भन्दा बढी लगानी भैसकेको र त्यसैलाई लक्षित गरी पोखरामा एक अर्व २९ करोड रुपैयाको लगानिमा सुविधा सम्पन्न रंगशाला निर्माणको प्रकृया अघि बढेको उनले उल्लेख गरे । उनले यसको टेन्डरका अन्तिम प्रक्रियाहरु केही दिनमा सकिने वित्तिकै ६ महिनामा काम सक्ने गरि कामको जिम्मेवारी दिने बताए ।
मञ्चका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रञ्जन अधिकारीले बोलेका थिए ।
फोटोः सुदर्शन रन्जित