राखेपको भौतिक पुर्वाधार निर्माण तथा योजना लाई मूर्तरुप दिन गोष्ठि

पोखरा, २६ साउन । राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद भौतिक पुर्वाधार निर्माण तथा योजना सम्बन्धी आइतबार गोष्ठी आयोजना गरेको छ । १३ औं दक्षिण एसियाली खेलकुद नजिकिंदै गईरहेको तर पूर्वाधारको काम शुष्त भएको बेला यो गोष्ठि आयोजना गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषदमा रहेको पूर्वाधार निर्माण समिती खेलको पूर्वाधार निर्माण बारे गम्भिर बनाउन र समितीलाई उर्जाशिल बनाउन यो गोष्ठिले सहयोग गर्ने बताइन्छ । गोष्ठीले भौतिक पुर्वाधार निर्माण समयमा नै सम्पन्न गर्नका लागि योजना बाँडफाँड र जवाफदेहिताको विषयमा छलफल गरेको थियो । १३ औं सागको भौतिक पुर्वाधारलाई प्राथमिकतामा राखेर निर्माण कार्य अगाडि बढाउने बताइएको छ ।

गोष्ठीको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनार (विश्वकर्मा) ले गरेका थिए । उनले राखेपलाई आर्थिक रुपमा पारदर्शी रुपमा अगाडि बढाउने बताए । ‘सुशासन र संस्थागत विकासमा अबको राखेपले नयाँ मोड लिने छ ।’ उनले भने–‘अब कर्मचारीको दरबन्दीको समस्या हल भैसकेको छ ।’

मन्त्रि विश्वकर्माले अपेक्षाकृत लगानी प्राप्त नभएका कारण सिमित साधन स्रोतमा नेपाली खेलकुद अगाडि बढेको बताए । उनले प्रदेश र स्थानीय तहमा भौतिक पुर्वाधार निर्माण हुने र ती पुर्वाधार गुणस्तरीय र समयभित्र नै सम्पन्न गर्नका लागि गोष्ठी कोशेढुंगा सावित हुने बताए ।

राखेप सदस्य सचिव रमेश कुमार सिलवालले नीति र योजना बनाएर काम गर्ने परिपाटीको विकास गर्न लागेको र आम जनसमुदायमा खेलकुदलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउने बताए । उनले तोकिएको मिति भित्र काम सम्पन्न गर्नका लागि कार्य विभाजन गरेर अगाडि बढ्ने योजना बनाएको बताए । उनले विगतमा राखेपमा पेश्कि लिएर फछ्यौट नगर्ने परिपार्टी रहेको बताउँदै भने,‘विगतमा राखेपमा केहि बदमासी भएको देखियो, पेश्की लिने र समयमा फछ्र्यौट नगर्ने परिपाटी रहेछ, अब यसको अन्त्य गर्नुपर्छ, मेरो कार्यकालमा पेश्किी घट्छ बढ्दैन ।’

आर्थिक प्रशासनमा शुसासन कायम गरेपछि खेलकुदको छवि राम्रो हुने धारणा व्यक्त गर्दै सदस्य सचिब सिलवालले भने–‘स्वच्छ प्रशासन, पारदर्शिता, नीति नियममा काम गर्नुपर्छ, राष्ट्रिय ढुकुटीको दोहन गर्न पाइदैन, त्यस्तो गर्ने व्यक्तिको नाम सार्वजनिक गरिने छ ।’

राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले आर्थिक पारदर्शीतामा खेलकुद संघहरुलाई ल्याउने यस अघि पनि राखेपमा आफ्नो संयोजकत्वमा बनेको पेश्की फछ्यौट समितिले कार्य गरेर प्रतिवेदन बुझाएको बताए । उनले योजनाबद्ध रुपमा काम गर्दै नेपालको खेल क्षेत्रलाई समृद्ध बनाउने तयारी शुरु भएको बताए ।

महालेखा परिक्षक दामोदर पुडासैनीले खेलकुदमा बर्षेनी बेरुजु बढिरहेको बताए । ११ सय ७४ जनाको नाममा बेरुजु रहेको बताउँदै भने, ‘यो कसैको पनि हितमा छैन । आर्थिक ऐन नियम विपरित जाने कोहि पनि बचेका छैनन् र कसैले पनि बचाउन सक्दैन ।’ उनले शुरुमा नै खरिद योजना बनाएर कार्यन्वन गर्न सुझाव समेत दिए । उनले देशमा ४० प्रतिशत खर्च असरामामात्र हुनु विडम्बना भएको बताए । उनले खेलकुद भौतिक पुर्वाधारको परफमेन्स अडिट टोली खताइएको र चैतसम्म संसदमा प्रतिवेदन पेश गर्ने बताए । ‘भौतिक पुर्वाधारको अवस्था कस्तो छ ? कति अपुग छ । भएर पनि त्यसलाई उपयोग गरिएको छैन कि ? लगायतको विषयमा अडिट हुन्छ ।’

अर्थमन्त्रालयका उपसचिव मोहनसिंह बस्नेतले असारको अन्तिममा रकामान्तरण गर्ने कुराको अन्त्य गर्नुपर्ने बताए । उनले स्विकृत कार्यक्रममा ध्यान केन्द्रित गरेर काम गर्न आग्रह गर्दै भने, ‘सार्वजनिक खरिद ऐन संशोधन भएको छ, यसले काम गर्न थप सहज बनाएको मैले विश्वास लिएको छ, अब भदौ १५ भित्र टेन्डर आव्हान गरेर समयमा काम हुनेमा विश्वास छ ।’

कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख भोजराज पौडेलले अन्तिम महिनामा बढि खर्च गर्ने परिपाटीको अन्त्य गर्नुपर्नेमा जोड दिए । ‘कार्यक्रम स्वीकृत भैसकेर आइसकेकोले अब साउन महिनाभित्र तयारी गरेर, भदौ महिनामा ठेक्का पट्टाको सूचना आव्हान गरेर असोजभित्र सम्झौता गरिसक्नुपर्ने छ’ उनले भने,‘यसले समयमा नै तोकिएको लक्ष्य हासिल गर्न सहयोग गर्ने छ ।’ उनले दोस्रो चौमासिकको रकम माग गर्दा पहिलो चौमासिकको प्रगतिका ५० प्रतिशत कार्य भएको हुनुपर्ने बताए ।  गोष्ठी सोमबार सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close