
पोखरा, अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीलाई जिल्ला प्रशासन कार्यालय कास्कीले १७ वुँदे प्रश्न सहित जानकारी माग गरेको छ । कास्की एन्फका विषयमा प्रशासन समेत गम्भिर बनेर प्रश्न गरिरहैकै समयमा एन्फा केन्द्रले समेत कास्की एन्फा बारे छानबिन गर्न समिती बनाएको छ ।
प्रशासन कार्यालयले एन्फा कास्कीलाई फागुन ६ मा माग गरेको विवरणमा प्रतियोगिता विशेष गरि मनकामना कप त्यस वापत राज्यले प्राप्त गर्ने कर वापत दाखिला भएको नभएको बारेमा रहेको छ । तर हाल सम्म पनि एन्फा कास्कीले प्रशासनले सोधेको प्रश्नका बारेमा जवाफ प्राप्त नभएको बताइएको छ ।
स्पष्ट ढङ्ग बाट सोधिएका प्रश्न मध्ये एन्फाले सञ्चालन गरेको बाल बालिकालाई प्रदान गरिएको फुटबल प्रशिक्षण ‘ग्रास रुट’ को समेत रहेको छ । एन्फाले सञ्चालन उक्त ग्रास रुट कार्यक्रम फिफा सहयोग अन्तरगत रहेको तर कास्कीमा सो वापत समेत अभिभावक संग मासिक शुल्क उठाएको भन्दै उजुरी परे पछि प्रशासन समेत गम्भिर देखिएको छ ।
प्रशासनले कडा शब्दमा सोधेको छ–एन्फाले संचालन गरेको के कस्तो प्रशिक्षण हो ? स–शुल्क वा निशुल्क, स–शुल्क भए कति रकम उठाइएको छ ? प्राप्त शुल्क कुन बैंकमा छ ?
मनकामना कपको आय व्यय विवरण, प्रवेश शुल्कको टिकट वापतको आम्दानी रकम, प्रवेश टिकटको शुल्क बिक्री, प्रायोजक, उपप्रायोजक, ब्यपारी तथा व्यवसायी संग उठाएको विज्ञापन वापतको रकम के कति आएको ? प्रतियोगिताका विजेता उपविजेतालाई पुरस्कार राशी उपलव्ध भएको नभएको ? समेत सोधिएको छ ।
यसै गरि २०७४ माघ २ गते नर्वाचित संघको अध्यक्षको नाम, संघ गठन पश्चात के कस्ता प्रकृतीका प्रतियोगिताहरु संचालन भए, तिनको सम्पुर्ण आय व्यय विवरण समेत रहेको छ ।
एन्फा केन्द्रको छानविन समिती
यता जिल्ला प्रशासन कार्यालय कास्कीले जानकारी माग गरे संगै अखिल नेपाल फुटबल संघ (एन्फा) ले रत्न कुमार श्रेष्ठको अध्यक्षतामा ३ सदस्यिय छानविन समिती गठन गरेको एन्फका प्रवक्ता किरण राईले जानकारी दिएका छन ।
“तिन साताकोे अवधी दिएर आज (मंगलबार) नै छानबिन समिती गठन गरेका छौं यसमा हाम्रो गम्भिर ध्यनाकर्षण भएको छ” प्रवक्ता राईले भने । एन्फाले गठन गरेको छानविन समितीमा आनन्द रञ्जित र नारायणदत्त अधिकारी रहेका छन । समितीले २१ दिन भित्रै प्रतिवेदन वुझाउने भएको छ । गठित समितीको अध्यक्ष श्रेष्ठ एन्फाका केन्द्रिय सदस्य हुन ।
