चार वर्ष पछि चिनमा भेट्ने वाचा सहित सकियो एसियाली खेल

पोखरा, १७ भदौ ।
चार वर्षपछि चीनको हान्जोउमा भेट्ने वाचासहित १८औं एसियाली खेलकुद समापन भएको छ । इन्डोनेसियाको राजधानी जाकर्ताको गेलोरा बुङ कार्नो रंगशालामा १८ औं एसियाली खेलकुदको एक भव्य समारोहबीच समापन भयो ।

आइतबार भएको भव्य समारोहमा कोरियाका पप स्टार सुपर जुनियर र आइकोनले आफ्नो शानदार प्रस्तुती दिएका थिए । यस्तै भारतीय कलाकार सिद्धार्थ स्लाथियाले पनि आफ्नो प्रस्तुती दिएका थिए। यस्तै इन्डोनेसियन कलाकारहरु इसीयाना सरास्भाती, बुङगा सित्रा लेस्तारी, लिया सिभाजुथाङ, डेनाडा, डिरा सुगान्डी, जेफ्लो र अफगानले आफ्नो प्रस्तुती मार्फत भरपुर मनोरञ्जन दिएका थिए ।

समापन समारोहमा एसियाली खेलकुदमा सहभागी ४५ देशका खेलाडी, अफिसियल, अतिथि,पत्रकार र दर्शक गरी ५५ हजार उपस्थित थिए। यस्तै समारोहमा इन्डोनेसियाको संस्कृति झल्कने भेषभूषामा स्थानीय खेलाडी, अफिसियल र दर्शक उपस्थित भएका थिए।  यस्तै सहभागी देशका खेलाडी तथा अफिसियल मार्च पास गरेका थिए । नेपालको तर्फबाट टेबलटेनिस खेलाडी स्वेच्छा नेम्वाङले झन्डा बोकेकी थिइन् ।

गत १८ अगस्टदेखि आइतबारसम्म इन्डोनेसिया र पालेङबाङमा चलेको एसियाली खेलकुदमा ४५ देशका ११ हजार ३ सय खेलाडीले ४० खेलको ४ सय ५६ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

यसपटकको एसियाली खेलकुदमा पनि चीनले आफ्नो वर्चश्व जमायो। चीनले १ सय ३२ स्वर्ण, ९२ रजत र ६५ कास्य गरी कुल २ सय ८९ पदक जित्यो। पदक तालिकाको दोस्रो स्थानमा जापान रह्यो। जापानले ७५ स्वर्ण, ५६ रजत र ७४ कास्य गरी कुल २ सय ५ पदक हात पार्यो ।

दक्षिण कोरियाले ४९ स्वर्ण, ५८ रजत र ७० कास्य गरी जम्मा १ सय ७७ पदक जित्न सफल भयो। चौथो स्थानमा आयोजक इन्डोनेसिया रह्यो। उसले ३१ स्वर्ण, २४ रजत र ४३ कास्य गरी कुल ९८ पदक हात पार्यो ।

नेपालले भने १ रजत पदक मात्र जित्न सक्यो । नेपालले प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री टिम इभेन्टमा रजत जित्यो । यसअघिका एसियाली खेलकुदमा नेपालका लागि पदक जित्दै आएका तेक्वान्दो, कराते र बक्सिङ यसपटक पदक विहीन रहे । नेपाल १२ औं दिनसम्म पदकविहीन बन्नु परेको थियो । यसपटक देखि समावेश गरिएको प्याराग्लाइडिङबाट रजत जित्दा नेपालले २० वर्षपछि दोस्रो रजत जितेको हो ।

सहभागी ४५ देश मध्ये ३७ देशले मात्र पदक जित्न सफल भए । १ रजत जितेकाले नेपाल पदक तालिकाको ३३औं स्थानमा रह्यो। ८ देशले पदक जित्न सकेनन्। सार्क राष्ट्रमा भारतले १५ स्वर्ण, २४ रजत र ३० कास्य गरी जम्मा ६९ पदक जित्न सफल भयो। भारत पदक तालिकाको आठौं स्थानमा रह्यो । एसियाली खेलकुदमा यो भारतको सबैभन्दा राम्रो प्रदर्शन हो। पाकिस्तानले ४ कास्य जित्दा अफगानिस्तानले २ कास्य जित्यो। अन्य सार्क देश श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सले पदक जित्न सकेनन् ।

समारोहमा सन् २०२२ को एसियाली खेलकुद आयोजना गर्ने चीनको होन्जाउ प्रान्तका प्रमुखलाई एसियाली खेलकुदको झन्डा हस्तान्तरण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close