
केशब पाठक,
पोखरा, १४ भदौ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की लगाएत देशका अन्य जिल्लाका एन्फाहरुलाई केन्द्रिय एन्फाले पहिलो चरणमा फुटबल मैदान मर्मतका लागि नगद ५ लाख उपलव्ध गराएको छ ।
एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई एन्फाले काठमाडौमा आयोजना गरेको एक समारोहमा नेपाल सरकारका उपप्रधान एवम रक्षा मन्त्रि मन्त्रि इश्वर पोख्रेलले ५ लाखको चेक प्रदान गरेका छन । अध्यक्ष गुरुङ सहित अन्य जिल्लाका अध्यक्षहरुलाई पनि उपप्रधान एवम रक्षा मन्त्रि मन्त्रि पोख्रेलले चेक हस्तान्तरण गरेका थिए ।
एन्फा केन्द्रको निर्णय अनुसार सुगम जिल्लालाई ५ र दुर्गमलाई १० लाखका दरले रकम वितरण गरिएको हो । जस अनुसार कास्की जिल्लाले ५ लाख प्राप्त गरेको एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले बताएका छन । नगद संगै करिब ६० थान बल, बिफ्स, कोन लगाएतका सामाग्रीहरु समेत प्राप्त भएको र ति सामाग्रीहरु कास्कीको फुटबल बिकासका लागि प्रयोग गरिने उनले बताए ।
एन्फा कास्कीका अध्यक्ष गुरुङले यो रकमले छिट्टै नै मैदान मर्मतका लागि खर्च गरिने बताए । उनले भने–“यो सानो रकम हो तर पनि यसलाई भरपुर सदुपयोग गर्नेछौं ।” उनले पोखराका वडा नं १४, २५, १५ र लेखनाथको शैनिक बस्ती क्षेत्रमा समेत मैदानको खोजी भइरहेको बताउँदै वडा कार्यालयले सहमती दिने वित्तिकै काम सुरु हुने बताए । उनले केन्द्रले दिएको रकम थोरै भएको र अन्य क्लब तथा दाताहरु संग सहकार्य गरि काम गरिने बताए ।
पोखरामा भदौ ३० गते भव्य कार्यक्रमको आयोजना गरि ग्रास रुट लेभल कार्यक्रमको सुरुवात गरिने जानकारी दिंदै अध्यक्ष गुरुङले उक्त कार्यक्रममा विभिन्न विद्यालयम अध्ययनरत १५०० देखि २००० बालबालिकाहरुलाई पोखरा रंगशालामा उत्र्ताने तयारी भइरहेको बताए । उनले भने–“कास्कीमा फुटबलको जग बलियो बनाउन सुरु भएको कार्यक्रमलाई सार्थकता दिन कास्की एन्फा सबै बिद्यालयहरुलाई भदौ ३० गते पोखरा रंगशालामा सबै बिद्यालयका बिद्यार्थीहरु उपस्थितीका लागि अनुरोध गर्दछौ ।”
एन्फा केन्द्रको निर्णय बमोजिम अब पोखरा छिट्टैनै कास्कीमा ६० जनालाई होस्टेलमा राख्ने गरि एकेडेमी (एन्फा टेक्निकल सेन्टर) निर्माणको पहललाई तिब्रताका साथ अगाडी बढाइएको एन्फा अध्यक्ष गुरुङले बताएका छन । यो टेक्निकल सेन्टरको निर्माण पछि कास्कीको फुटबल बिकासमा नयाँ युगको प्रारम्भ हुने उनले बताए ।