
पोखरा, ११ भदौ ।
इन्डोनेशियामा जारी १८ औ एशियाली खेलकुदमा नेपाल करिब–करिब पदक विहिन हुन पुगेको छ । एशियाली खेलकुदमा नेपालले मात्र तीन खेल तेक्वान्दो, बक्सिङ र करातेमा पदक जितेको इतिहास थियो । तर यसमा पनि नेपाल पदक बिहिन हुन पुग्यो । अब नेपाली टोली करिव करिव रित्तो हात नै घर फर्कने पक्का बनेको छ ।
तेक्वान्दोको चुनौती भदौ ७ गते सकिएको हो भने कराते र बक्सिङ दुवै सोमबार पदकविहीन बने । विगतका एशियाली खेलकुदमा नेपालले तेक्वान्दोबाट १ रजत र १३ कांस्य, बक्सिङबाट ६ कांस्य र करातेबाट ३ कांस्य जितेको अनुभव नेपाल संङ थियो ।
जम्वो अफिसियल टोली सहित पदक भन्दा पनि अनुभव संगाल्न जार्काता पुगेको नेपाली टोलीका अफिसियलहरु, राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी र नेपाल ओलम्पिकका टोली माथी नेपाली खेलप्रेमीहरुले अब औंला सोझाउँदै राजिनामा माग्न कम्मर कसेर लाग्ने भएका छन । राज्यको सम्पती दुरपयोग गर्दै जार्कातामा पारिवारिक भ्रमण बनाएका परिषद र ओलम्पिक कमिटीकाहरु माथी अब कार्वाहीको के कस्तो डन्डा चल्ने हो त्यो भने समयलेनै बताउनेछ ।
करातेमा रित्तो हात
सोमबार करातेमा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष ८४ केजीमुनि नेपालका दिवस श्रेष्ठ पहिलो चरणमा इरानका पोर्सब जाभिओलाहसंग ८–० ले पराजित भए ।
महिलाको ५० केजीमुनि नेपालकी अनु अधिकारी कांस्य पदकका लागि भिडे पनि उनी चुकिन् । सागकी रजतधारी अनु कांस्य पदकका लागि भएको भिडन्तमा जापानकी मिहो मियातेरासंग ९–० ले पछि परिन् । पहिलो रिपाचेमा अनुले लाओसकी सिरिभिमाने सिरिमोङ खौनलाई ३–१ ले हराउदै कांस्य भिडन्त पक्का गरेकी थिइन् । पहिलो चरणमा भने अनुले मकाउकी चिङ छियुङलाई ५–१ ले पाखा लगाउदै क्वाटरफाइनलमा प्रवेश गरेकी थिइन् । क्वाटरफाइनलमा अनु ताइपेईंकी सियाउसुङ गुसंग ५–१ ले निराश हुनु प¥यो । सियाउसुङ फाइनलमा पुगेपछि अनुले रिपाचे खेल्ने अवसर पाएकी हुन् । एसियाली खेलकुदको १० औं दिनसम्म आइपुग्दा कुनै दुई खेलमा जित हात पार्ने अनु पहिलो नेपाली खेलाडी बनिन् । सियाउसुङले उक्त स्पर्धाको स्वर्ण पदक जितिन् ।
बक्सिङको पुरुष ७५ केजीमा १२ औं सागका कांस्य विजेता दीपक श्रेष्ठलाई ताइपेईंका चियावेइ कानले ५–० ले पराजित गरे ।
टेबलटेनिस
टेबलटेनिसको पुरुष/महिला दुवैको टिम इभेन्टमा नेपालको पराजय यात्रा जारी छ । पुरुषमा नेपाल दक्षिण कोरियासंग ३–० तथा नेपालले लाओसलाई ३–१ ले पराजित गरेको छ । महिलामा नेपाललाई हङकङ र भियतनामले समान ३–० को नतिजामा हराए ।
सेपाकताक्रो :रेगुमा चुनौती समाप्त
एसियाली खेलकुदमा पहिलो पटक सहभागिता जनाएको सेपाकताक्रोको पुरुष रेगु स्पर्धामा नेपालको चुनौती समाप्त भएको छ ।
सोमबार नेपाल भारतसंग २–० ले पराजित भयो । त्यसअघि नेपाल चीन, मलेसिया र दक्षिण कोरियासंग पनि समान २–० को नतिजामा पराजित भएको थियो । नेपालले मंगलबार पुरुष क्वाड स्पर्धामा प्रतिस्पर्धा गर्नेछ ।
प्लाराग्लाइडिङ
प्याराग्लाइडिङको टिम क्रस कन्ट्री इभेन्टको तेश्रो चरण समाप्तिसम्म नेपाली पुरुष टिम चौथो स्थानमा छ । नेपाल अघिल्ले दिन तेस्रो स्थानमा थियो । आयोजक इन्डोनेसिया, जापान र दक्षिण कोरिया क्रमशः शीर्ष तीन स्थानमा छन् ।
सोही स्पर्धाको महिलामा भने नेपाल पाँचौंबाट छैटौं स्थानमा झरेको छ । जापान पहिलो, दक्षिण कोरिया दोश्रो र इन्डोनेसिया तेश्रोमा छन् । पाँचौं चरणसम्म हुने प्रतिस्पर्धा बुधबार सम्पन्न हुनेछ ।
स्क्वास
नेपालले एसियाडमा सहभागिता जनाउने २९ खेल मध्ये अन्तिममा समावेश भएको स्क्वासको पुरुष टिम इभेन्टमा नेपाल पराजित भएको छ । नेपाल दक्षिण कोरिया र पाकिस्तानसंग समान ३–० को नजितमा पराजित भयो । पुरुष सिंगल्समा भने नेपालको चुनौती समाप्त भइसकेको छ ।
एथलेटिक्स : सरस्वतीले समय सुधारिन्
नेपालकी सरस्वती भट्टराईले महिला ८ सय मिटर दौडमा आफ्नो व्यक्तिगत समयमा सुधार गरेकी छिन् । जकार्ताको गेलारो बुङ कार्नो रंगशालामा सरस्वतीले निर्धारित दूरी २ मिनेट १२.८५ सेकेन्डमा पूरा गर्दै आफ्नो व्यक्तिगत समयमा सुधार गरेकी हुन् । सरस्वतीको उत्कृष्ट व्यक्तिगत समय २ मिनेट १३.९९ सेकेन्ड थियो ।