
पोखरा, ९ भदौ ।
१३ औं दक्षिण एशियाली खेलकुद (साग) नेपालमा अब करिब–करिब तोकिएको समयमा नहुने निश्चित भएकोछ । अबको ठिक ७ महिना पछि अर्थात मार्च २०१९ मा आयोजना हुने १३ औं साग नेपालमा पूर्वाधार निर्माणमा ढिलाई हुँदा अनिश्चितताको बादल मडारिएको हो ।
नेपालले १३ औं साग आयोजना नर्गने आधिकारिक रुपमा घोषणा नगरे पनि १८ औं एशियाली खेलकुद जार्कातामा जारी रहेकै बखत दक्षिण एशियाली ओलम्पिकको काउन्सिलको बैठकमा पुनः नेपालले साग खेल आयोजना बारे प्रश्न उठेको एक सहभागीले बताएका छन ।
“नेपालले १३ औं साग आयोजना नर्गने घोषणा नगर्ने बित्तिकै ठूलो रकम जरिवाना बुझाउनु पर्ने हुन्छ” जार्कातामा रहेका एक नेपाली खेल अधिकारीले नाम नभन्ने शर्तमा भने–“विभिन्न कारणले हाम्रा पूर्वाधार बन्न ढिलाई भएकै हो बरु हामीले केही समय यसका लागि माग्ने छौं र नेपालमा नै आयोजना हुने बातावरण मिलाउने छौं ।”
नेपालमा तोकिएको समयमा नहुने भएक पछि यहि विषयलाई लिएर श्रीलंकाले पटक–पटक दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठकमा नेपालको आयोजना बारे प्रश्न तेर्साउँदै श्रीलंकालाई आफूलाई दिन आग्रह गरिरहेको थियो । यस अघि काठमाडौको बैठकमा समेत श्रीलंकाले नेपालले समयमा खेल आयोजना गर्ने बारे शंका रहेको भन्दै श्रीलंकालाई आयोजना गर्न मागेको थियो ।
तर नेपालले आफूलेनै आयोजना गर्ने अडान बाट पछि नहटे पछि बैठकले यथासिघ्र पूर्वाधारहरु सम्पन्न गरि तोकिएको समयमानै साग खेल आयोजना गर्न आग्रह गरेको थियो । तर अबको ६ महिना भित्र पूर्वाधार बनेर खेल हुने कुनै छाँट–काँट नै नदेखेपछि श्रीलंकाले भने आफ्नो तयारी सुरु गरिसकेको छ ।
तर यूवा तथा खेलकुद मन्त्रि जगत विश्वकर्माले नेपालमा साग नहुनुको पछाडी कुनै कारण नै नभएको बताए । “हामी भर्खरै सरकारमा आयौं यो छोटो अवधीमा पनि हामीले धेरै काम सम्पन्न गरेका छौं ।” उनले नेपाल सरकार नेपालमा केही समय पछि धकेलेरै भए पनि १३ औं साग आयोजना गर्ने पक्षमा रहेको बताए । “हामी देशको गौरव बढाउने कार्यक्रमलाई अरुलाई सुम्पन्न चाहन्नौ” उनले भने ।
नेपालमा १३ औ साग नहुनुको पछाडी नेपाली खेलकुदको कमजोर नेतृत्वनै रहेको बताइन्छ । नेपाली खेलकुदको छाता संस्था राष्ट्रिय खेलकुद परिषदमा काम गर्ने भन्दा पनि गफ मात्रै गर्ने नेतृत्व र राजनिती बढी हावी हुँदा नेपाली खेलकुद पछि परेको विश्लेषकहरुले बताउँदै आएका छन ।
सन १९८४ बाट सुरु भएको साग खेलकुदको इतिहासमा भारत, बंगालादेश ३–३ पटक पाकिस्तान, श्रीलंका र नेपालले २–२ पटक आयोजना गरेका छन ।
काठमाडौ र पोखरामा आयोजना गर्ने भनिएको १३ औं सागका लागि पोखरा स्थित रंगशाला भत्काएर पूर्न निर्माणको पर्खाइमा छ । एशियाली खेलकुदका लागि परिषदका पदाधिकारी र कर्मचारी व्यस्त रहँदा समयमा टेण्डर हुन सकेको समेत छैन । दुइ वटा कम्पनीहरु छनौट भएर बसेका छन तर उनीहरु मध्ये कुनलाई दिने निधो नभएको हो । अबको ६ महिनामा रंगशाला बन्ला र १३ औं साग होला भन्नेमा नेपाली खेलप्रेमीहरु समेत विश्वस्त हुन सकिरहेका छैनन ।